बुटवल-लुम्बिनी प्रदेश सरकारले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरेपनि विपक्षी दलले अधिवेशन निरन्तर चलाउन सभामुखलाई आग्रह गर्ने भएका छन्।
प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्चको फैसलाले सरकारले एकलौटी हिसाबले संसद अधिवेशन अन्त्य गर्न नसक्ने नजिर बसालेकाले त्यो नजिर प्रदेश सभामा पनि लागू हुने विपक्षी गठबन्धनको तर्क छ।
विपक्षी गठबन्धन मध्येको नेकपा माओवादी केन्द्रका सासद तथा पूर्वमन्त्री सुदर्शन बरालले प्रदेश सभा बैठक निरन्तर चलाउन सभामुखलाई अनुरोध गर्ने बताए।
उनले लुम्बिनी टाईम्ससँग भने-'असंवैधानिक जगमा उभिएको अल्पमतको सरकारले आफुलाई मन लाग्दा सदन चलाउने, मन लाग्दा बन्द गर्ने गर्न पाउँदैन, सदनमा असफल हुने देखेर मध्यरातमा अधिवेशन नै अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउन खोज्नु एकदमै असंसदीय र अलोकतान्त्रिक अभ्यास हो, हामीलाई मान्य छैन।'
उनले प्रदेश सभामा बहुमत सदस्य विपक्षी गठबन्धनसँग रहेकाले बहुमत सदस्यले संसदको बजेट अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय अस्वीकार गर्ने बताए। उनले यस्तो अवस्थामा सभामुखले बहुमत सदस्यको अनुरोध र संवैधानिक अधिकारको उपयोग गर्नुपर्ने बताए।
'प्रदेश प्रमुखलाई हातमा लिएर सरकारले योसम्मको हर्कत गर्नसक्छ भन्नेमा हामी जानकार थियौं, त्यसैले हामीले सत्तापक्षलाई पटक पटक असंवैधानिक कदम नचाल्न र सदनमा फेस गर्न आग्रह गरेका थियौं, उनले भने-'तर उहाँहरू सदन फेस गर्न सक्नुभएन, किनकी उहाँहरूसँग बहुमत छैन भन्ने पुष्टि भैसक्यो।'
उनले सरकारले बजेट ल्याएर पास गर्ने प्रक्रियामा नगई भागेर जानुले सरकारको कायरता प्रदर्शन भएको बताए। 'सरकार भागेको छ, तर हामीले सदन चलाएर बजेटलाई निर्णयार्थ प्रस्तुत गरेर त्यहीँबाट बजेट फेल गराउँछौं।'