जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका नेताहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसासहित अन्य महत्वपूर्ण दस्ताबेजहरु सार्वजनिक गरेको हो ।
प्रहरीले एक प्रेस विज्ञप्ति जारी गरी छ थान पेस्तोल, दुई थान म्यागजिन, नौ वटा गोली, एउटा सुतली बम र रु तीन लाख ८४ हजार ५३० नगद बरामद गरेको उल्लेख गरेको छ । साथै, ३७ थान मोबाइल सेट, ग्लोबल आइएमइको चार वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनीतिक दर्शनका किताब, चन्दा उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल तयारी अवस्थामा प्रहरीले भेटाएको जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरगञ्ज भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा सुभाष, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष दीपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा, दाङका जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम) सहित २१ जना रहेका छन् । पक्राउ परेकालाई सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।
विप्लव आउने सूचनामा घण्टौ पैदल हिड्यो प्रहरी टोली
नेकपाको मध्यपश्चिम क्षेत्रको बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द आउने सूचना पाएर प्रहरीले छापा मारेको प्रहरी श्रोत बताउँछ । बैठकमा विप्लव पनि सहभागी भएको भन्ने सूचनाका आधारमा प्रहरी ठूलो संख्यामा सुरक्षाकर्मीसहित बैठकस्थलमा घेरा हाल्न पुगेको थियो । बैठकमा उपनिर्वाचनको बारेमा धारणा बनाउने र त्यसलाई कसरी प्रभावित गर्ने भन्ने विषयमा छलफल चलेको र बैठकमा विप्लव पनि सहभागी हुने बताइएको सूचना प्रहरीलाई थियो ।
विप्लव समेत बैठकमा सहभागी भएको सूचना पाएको प्रहरी घण्टौ पैदल हिडेर बैठक स्थल पुगेको थियो । प्रहरीले विप्लव भारतबाट बैठकस्थल आएको र प्रहरी पुग्नुअघि नै बैठकस्थलबाट निस्किसकेको हुनसक्ने अनुमान गरेको छ ।
यसबारे पक्राउ परेका नेताहरुसँग सोधपुछ गरेपनि उनीहरुले जानकारी नभएको बताएको प्रहरी श्रोतले जनाएको छ ।