बुटवल- प्रजातन्त्र पुन:स्थापना भएपछिको पहिलो २०४८ सालको चुनावमा नै बालकृष्ण खाँण बुटवल सहितको क्षेत्र अर्थात तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएकै बेला ३१ वर्षको उमेरमा उनी सांसद भएका थिए। त्यस यताको ३० वर्षमा कांग्रेस नेता खाँण ४ पटक सांसद र चौथो पटक मन्त्री भएका छन् ।
२०५१ सालको मध्यवधी चुनावमा भने उनी एमालेका मोदनाथ प्रसितसँग पराजित भए। २०५६ सालमा भने खाँण उमेद्वार बनेनन्। त्यसबेला बुटवलबाट कांग्रेसकै सुर्यप्रसाद प्रधान सांसद भएका थिए । २०६१ सालमा संसद नरहेको अवस्थामा शेरवहादुर देउवा प्रधानमन्त्री हुँदा खाँणा शिक्षा राज्यमन्त्री भएका थिए ।
२०६४ र २०७० गरि दुबै चुनाबबाट उनी तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य भएका थिए। पहिलो संविधान सभाको कार्यकालामा २०६६ सालमा उनी सिचाइ मन्त्री भएका थिए। २०७३ सालमा रक्षामन्त्री भए । २०७४ सालको चुनावमा समानुपातिक तर्फबाट सांसद बनेका खाँण त्यसको साढे ३ वर्षपछि गृहमन्त्री बनेका हुन् ।
२०१७ सालमा स्याङजामा जन्मिएका खाण पछि रुपन्देहीमा बसाइ सरेका थिए । २०३३ एसएलसी दिएपछि उनी नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका थिए ।
नेपाल विद्यार्थी संघ रुपन्देहीको सचिव, जिल्ला अध्यक्ष भए। अध्ययनको लागि काठमाडौँमा रहँदा २०४३ सालमा उनी त्रिभुवन विश्वविद्यालयको स्ववयू सभापति बने। २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष थिए। २०४६ सालको जनआन्दोलन ताका पनि खाँण नेविसंघको अध्यक्ष नै थिए। २०५४ सालमा कांग्रेसको अर्को भातृसंस्था नेपाल तरुणदलको केन्द्रीय अध्यक्ष भएका थिए । २०५६ साल यता उनी कांग्रेसको केन्द्रीय सदस्य छन्।
पार्टीमा शेरवहादुर देउवा निकट उनको राम्रै प्रभाव छ । गत आम चुनाव र स्थानिय चुनावलाई आधार मान्ने हो भने रुपन्देहीमा कांग्रेसको अवस्था कम्जोर छ । कांग्रेसका देउवाइतर पक्षका कार्यकर्ताले भने उनलाई गुटको राजनीतिलाई प्रसय दिएको आरोप लगाउने गर्दछन्। केन्द्रीय राजनीतिमा रहेका खाँणले रुपन्देहीको विकासमा राम्रै भुमिका खेलेको उनी पक्षिय कार्यकर्ताले बताउने गरेका छन् ।
मंगलबार गृहमन्त्रीमा नियुक्त भएर सपथ लिएका बालकृष्ण खाँणले बुधबार मन्त्रालयको कार्यभार सम्हालेका छन्। मन्त्रीको रुपमा मुलुकको सुरक्षा प्रणाली र जनप्रतिनिधिको रुपमा आफ्नो क्षेत्रको विकासमा उनको कस्तो भूमिका खेल्छन् । आउँदा दिनले नै बताउने छ ।