बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको हो भनेर राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा खुलाइएको छैन ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख नगरिएको हो ।
राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा भने सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।
अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दाबी गरेका देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।