बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले अत्याधिक न्यायिक सक्रियता देखाएको प्रतिक्रिया दिएका छन् । उनले अदालतले हरेक विषयमा हात हालेको उनको भनाइ छ ।
'अत्याधिक न्यायीक सक्रियता मार्फत प्रत्येक विषयमा हात हालेर अझ कहिले कहिले त सन्दर्भ नै नभएका माग नै नभएका विषयहरुसम्म अगाडि बढेर न गन्तव्यमा पुग्न सकिन्छ न त्यस्तो भारी बोक्ने क्षमता त्यस्तो निकायम हुन सक्छ ।' सम्बोधनको क्रममा ओलीले भने ।
अदालतले एउटा पक्षलाई जिताउने काममा लागेको उनको भनाई छ । ओलीले रेफ्रिले पक्षपात गरेजस्तो अवस्था देखिएको तर्क गरे । 'खेल खेल्ने जिम्मेवारी खेलाडीको हो । रेफ्रि स्वयंमा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ ।' उनले भने ।
सरकारबाट बाहिरिन परेको भएपनि जनादेश आफ्नो पक्षमा रहेको ओलीको दाबी छ। 'जनताको जनादेश मेरो पक्षमा थियो । परमादेश शेरवहादुरजीको पक्षमा भयो । सरकारबाट बाहिरीनुपर्ने विषयमा मलाई चिन्ता छैन ।' उनले भने । प्रधानमन्त्री हुँदा आफूले मुलुकको समृद्धि र सुसासनलाई ध्यानमा राखेर काम गरेको ओलीले दाबी गरे ।