काठमाडौँ - सर्वोच्च अदालतको परमादेश अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुने छन् । देउवाले सानो आकारको मन्त्रीपरिषद बनाएर सपथ लिने तयारी गरेका छन् । सपथ लिनु अघि सरकारमा को कसलाई सहभागी गराउने भनेर छलफल तथा परामर्श गरिरहेका छन् ।
सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन पनि देउवाले आग्रह गरेका थिए।
आज पनि उनले पार्टी भित्र र विपक्षी गठबन्धनका दलसँग छलफल गर्दैछन् । कांग्रेसले पनि आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक राखेको छ। बैठकमा सरकारमा क-कसलाई मन्त्री बनाउने भन्नेबारे पनि छलफल हुनेछ।
उता नेकपा माओवादी केन्द्रको पनि स्थायी कमिटिको बैठक बस्दै छ ।