काठमाडाैँ- अधिवक्ता ओमप्रकाश अर्यालले संसद बचाउनु सांसदको कर्तव्य हो भन्ने मान्यता स्थापित भएको प्रतिक्रिया दिएका छन्। उनले संविधानको रक्षाका निम्ति सर्वोच्चले निर्भीकतापूर्वक आफ्नो फैसला सुनाएको उल्लेख गरे। 'अब संसद बचाउनु सांसदको कर्तव्य हो भन्ने मान्यता स्थापित भएको छ। संविधान र संसदको रक्षाका लागि जसरी पनि एउटा निकास निकाल्नुपर्छ भन्ने कर्तव्य सम्झाइदिएको छ।' उनले भने।
अर्यालले सार्वभौम नागरिकको थलो प्रतिनिधि सभा निरन्तर क्रियाशील हुनुपर्छ भन्ने पक्षमा आफूहरुले वकालत गरेको भन्दै त्यसलाई बलियो हुने गरी अदालतबाट आदेश आएको उल्लेख गरे।
सर्वोच्च अदालतले संविधानतः जसरी पनि प्रतिनिधि सभा बचाउनुपर्छ, संसदीय स्थायित्वको सिद्धान्तलाई स्थापित भएको उनको भनाई छ । 'संसद् बचाउन सांसदले ह्वीप पनि उल्लंघन गर्न सक्छन् र सांसदहरुमा त्यो अधिकार अन्तर्निहित छ भन्ने देखाएको छ । संसदलाई बचाउने र संसदको रक्षा गर्ने सन्दर्भमा अन्तर्निहित अधिकार प्रयोग गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ।' उनले भने ।