काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै आएको सर्वोच्च अदालतको संवैधानिक इजलाश आज बस्दै छ । उक्त रिटमा असार ११ गतेबाट २१ गतेसम्म निरन्तर सुनुवाइ गरेपछि आजलाई पेशी तोकिएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सम्भवत आज फैसला सुनाउने छ ।
संविधानको धारा ७६ को ३ अन्तर्गतका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ मार्गप्रसस्त गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षर सहित संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीको लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए । बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए।गत पुस ५ गते पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा फागुन ११ गतेको फैसलाबाट ब्युँतिएको थियो ।
तर, फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा सर्वोच्चको अर्को फैसलाले नेकपा (माओवादी केन्द्र) र नेकपा ९एमाले०को एकता नै बदर गरिदिएपछि फरक राजनीतिक परिस्थिति निर्माण भएको थियो । विगतमा प्रतिनिधिसभा विघटन असंवैधानिक घोषित गर्दै पुनःस्थापना माग भएर संसद् पुनःस्थापना भए पनि यसपटक देउवालाई प्रधानमन्त्री बनाउन पनि माग गरिएको छ ।