बुटवल - तीन सातादेखि स्थगित भएको लुम्बिनी प्रदेश सभाको बैठक आज बोलाइएको छ। बैठक बसेमा नियमित कार्यसूची अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको बारेमा छलफल सुरु हुने छ। गत असार १ गते लुम्बिनी सरकारले बजेट प्रस्तुत गरेको भएपनि त्यसमा प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन।
बजेट पछि असार ६ गते बसेको बैठक विपक्षी गठबन्धनको बहिस्कारको कारण स्थगित भएको थियो । असार ९ गते तोकिएको बैठक बस्दै नबसी आज सम्मको लागि स्थगित भएको थियो ।
विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजिनामा दिन वा विश्वासको मत लिनुपर्ने माग गरेका छन् । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा विपक्षी दलहरुबीच छलफल हुँदै छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले शनिवार पार्टीको संसदीय दलमा छलफल भएको र आज अन्य विपक्षी दलसगँको छलफल गरेर निर्णय गर्ने बताए ।
जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजिनामा मुख्यमन्त्रीलाई समर्थन नरहेको बताएपछि बजेट पारित गर्न सरकारलाई समस्या भएको छ। जसपाबाट मन्त्री भएका ३ र एमालेका ३८ जना सहित अहिले प्रदेश सभामा सत्तापक्षसँग ४१ सांसद देखिएका छन्। विपक्षी गठबन्धनसँग पनि ४१ जना छन्। प्रदेश सभामा बजेट निर्णयार्थ प्रस्तुत हुँदा मत बराबरी भएमा सभामुखको मत निर्णायक हुने छ ।