बुटवल-नेपाली कांग्रेसको विधान अनुसार २ कार्यकाल भन्दा बढी जिल्ला सभापति हुन पाइँदैन । लुम्बिनी प्रदेशका १२ जना कांग्रेसका जिल्ला सभापति मध्ये ४ जनाले फेरि सोही पदमा दोहोरिन पाउने छैनन्।
रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका विरवहादुर राना, कपिलबस्तुका सुरेन्द्र आचार्य र बर्दियाका सञ्जय गौतमलाई फेरि जिल्ला सभापतिमा दोहोरिन विधानले दिँदैन ।
त्यसैले अब उनीहरुको ध्यान केन्द्र या प्रदेश समितितिरै हुने छ । दुई कार्यकाल सभापति भएकाले केन्द्रीय सदस्य तथा प्रदेशको पदाधिकारी तर्फ उनीहरुको आकांक्षा छ। कांग्रेस पाल्पाका सभापति विरवहादुर रानाले प्रदेश सभापति वा केन्द्रीय सदस्य तर्फ अबको रोजाइ रहेको सुनाए । ‘मेरो त्यस्तो ठूलो तयारी केही छैन । तैपनि पार्टीमा लामो समय काम गरेको हिसावमा एउटा भूमिका होस भन्ने चाहाना हो ।’ उनले भने ‘मेरो पहिलो रोजाइ प्रदेश सभापति त्यो भएन भने केन्द्रिय सदस्य नै हो ।’ राना हाल प्रदेश सभा सदस्य समेत हुन् ।
कांग्रेस रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकले आगामी उमेद्वारीको बारेमा अहिले नै कुनै निर्णय नगरिसकेको बताए । ‘साथीहरुसँग केही सल्लाह भएको छैन । त्यसैले अहिले नै केही सोंचेको छैन ।’ उनले भने ‘अब क्रियाशिल टुंगिएर आएपछि सबै सल्लाह गरेर निर्णय लिनुपर्ला ।’ रज्जाक पूर्व संविधान सभा सदस्य हुने भने । त्यसबेला केही समय राज्यमन्त्री समेत भएका थिए।
कांग्रेस वर्दियाका सभापति सञ्जयकुमार गौतमले पनि अझै आफूले निर्णय लिइनसकेको बताए । मन्त्री पनि भइसकेका र गत चुनावमा एमाले उपाध्यक्ष बामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका सञ्जयले आफ्नो आकांक्षा भने व्यक्त गरे । ‘१७–१८ वर्ष जिल्लामा काम गरिसकेपछि राष्ट्रिय राजनीतिमा जाउँ भन्ने चहाना निश्चित रुपमा पनि छ। सांसद र मन्त्री पनि भइसकें।’ उनले भने ‘पहिले त केन्द्रका नेताहरुबीच एकता होस, उहाँहरुको व्यवस्थापन होस भन्ने चाहान्छौ । त्यसपछि हाम्रो मुल्यांकन गरेर उचित भुमिका दिनुहुन्छ भन्ने विश्वास गरेका छौं ।’
कपिलवस्तु कांग्रेसका सभापति सुरेन्द्र आचार्यले आफ्नो पहिलो रोजाई केन्द्रीय सदस्य भएको बताए। पहिलो प्राथमिकता त केन्द्रीय सदस्य तिरै हो । केन्द्रमा पनि कस्तो टिम बन्छ । त्यो हेरेर निर्णय गर्नुपर्ला’ उनले भने ‘अहिलेको लागि प्रदेश समिति पनि महत्वपूर्ण छ । त्यहाँ कुन भूमिकामा बस्न सकिन्छ । त्यसबारे सबैसँग सल्लाह गरेर अघि बढ्नुपर्ला।’ आचार्यले एक पटक चारै जना जिल्ला सभापतिहरु सगै बसेर सल्लाह समेत गर्ने जानकारी दिए । उनी पनि यसअघि संविधान सभा सदस्य र राज्यमन्त्री भएका थिए ।
कांग्रेसका चार सभापति बाहेक गुल्मीका भुवनप्रसाद श्रेष्ठ, अर्घाखाँचीका विष्णु मुस्कान, नवलपरासी पश्चिमका विष्णु पौडेल, दाङका किर्तीबहादुर खड्का, बाँकेकी किरण कोइराला, रुकुम पूर्वका केशरबहादुर रोकाया, रोल्पाका अमर पुन र प्युठानका अमर भण्डारीले भने कांग्रेसको जिल्ला सभापतिमा भने फेरि पनि दोहोरिन पाउने छन् ।
विधानले दोहोरिन पाउने सुविधा दिएपनि उनीहरुको पहिलो ध्यान माथिल्ला पदमै रहेको छ । सके केन्द्रिय सदस्य त्यो पनि नभए प्रदेश पदाधिकारी हुने । त्यहाँ नमिले जिल्ला सभापति नै दोहोरिने बताएका छन् ।
तर नेपाली कांग्रेस रोल्पाका सभापति अमर पुनले आफू प्रदेश सभापतिबाट तल नझर्ने दाबी गरे । ‘म अब प्रदेश सभापति बन्ने भनेर त्यही अनुसार लागिरिहेको छु । त्यसको लागि केन्द्रीय नेताहरुसँग सल्लाह र सहकार्य भइरहेको छ ।’ उनले भने ‘सभापति भनेर प्रदेश पदाधिकारीको लागि मैले वार्गेनिङ पनि गर्दिन। जिल्ला सभापतिमा अब दोहोरिन्न।’
१० वर्षे द्वन्दका कारण रोल्पा, रुकुम लगायतका जिल्लामा कांग्रेस निकै कम्जोर छ। यी ठाउँमा कांग्रेसलाई फेरि स्थापित गराउन आफूले प्रदेश सभापतिको उमेद्वार बन्ने पुनको भनाइ छ।
कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले आफ्नो पहिलो रोजाई प्रदेश महामन्त्री रहेको सुनाए । ‘व्यक्तीगत रुपमा मेरो इच्छा प्रदेश महामन्त्रीमा हो । इच्छाले मात्र भएन सबै साथीभाईको सहयोग र सद्भावको जरुरी हुन्छ।’ उनले भने ‘नेता कार्यकर्ता र साथीहरुले फेरि पनि जिल्ला सभापति हुनुस् भन्नुभयो इन्कार गर्ने कुरा पनि भएन।’