काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले झलनाथ खनाललाई उपचार खर्च वेहोर्ने निर्णय कुन कानूनमा टेकेर गरिएको हो भनेर प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुन विपरित हुने बताएका हुन् ।
राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने कसैलाई पनि रकम नकाशा गर्न नमिल्ने उनको भनाइ छ । भारतको एपोलो अस्पतालमा उपचार गराएका नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएपछि पूर्वमन्त्री थापाले सामाजिक सञ्जाल मार्फत विरोध गरेका हुन् । “कानुनले स्पष्ट भन्छ, जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न मिल्दैन,” उनले प्रश्न गरे “प्रधानमन्त्रीज्यू अब भन्नुस्– पूर्व प्रमको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?” उनले आँफू स्वास्थ्यमन्त्री हुँदा उपचार खर्च दिने प्रचलन रोकेको दाबी गरे ।
'उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन' थापाले भनेका छन्।