बुटवल - नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब २ महिना पनि बाँकी छैन। भदौ १६ गतेबाट १९ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौँमा हुँदै छ। त्यसअघि साउन १२ गतेबाट तल्ला तहको अधिवेशन सुरु हुनेछ। अबको करिब १ महिना पछि अर्थात साउन २६ गते जिल्ला अधिवेशन हुने छ।
रुपन्देहीमा महाधिवेशनको माहोल अहिले नै तातिसकेको देखिँदैन। सायद कोभिडको कारण केन्द्रिय नेताहरुको जिल्ला दौड नभएर पनि हुन सक्छ । जिल्ला सभापतिको लागि अहिलेसम्म कसैले सार्वजनिक रुपमा दाबी गरिसकेका छैनन् । तर केही नामहरु कार्यकर्ता माझ चर्चामा छन् ।
अहिलेका जिल्ला सभापति अब्दुल रज्जाक २ कार्यकाल पदमा रहिसकेकाले विधानले अब उनी दोहोरिन मिल्दैन । त्यसैले रुपन्देही कांग्रेसले नयाँ जिल्ला सभापति पाउने छ । शेरवहादुर देउवा र रामचन्द्र पौडेल दुबै पक्षका गरि जिल्ला सभापतिको लागि आधा दर्जन भन्दा बढी उमेद्वारको नाम चर्चामा छ ।
देउवा पक्षबाट हालका जिल्ला उपसभापति फणीन्द्र शर्मा, जिल्ला सचिव रामकृष्ण खाण, युवराज गिरी आकांक्षी रहेका छन् । २ कार्यकाल जिल्ला उपसभापति भएका शर्मा तरुण दलका पूर्व जिल्ला अध्यक्ष पनि हुन्। उनी गत चुनावमा सैनामैना नगरपालिकाको मेयरको उमेद्वार समेत बनेका थिए।
बालकृष्ण खाँडका भाइ रामकृष्ण २ कार्यकाल निर्वाचित सचिव भएकाले उनलाई पनि शसक्त दाबेदारको रुपमा हेरिएको छ। उनी गत चुनावमा तिलोत्तमा नगरपालिकामा मेयरको उमेद्वार थिए। त्यस्तै युवराज गिरी पूर्वजिल्ला सभापति पुष्पानन्द गिरिका छोरा हुन्। गत चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट विष्णु पौडेलसँग चुनाव लडेका थिए ।
यस्तै पौडेल पक्ष भनेर चिनिएका रामचन्द्र ढकाल, थानेश्वर घिमिरे, अष्टभुजा पाठक, मात्रिका यादवको नाम पनि जिल्ला सभापतिको उमेद्वारको रुपमा चर्चामा छ । ढकाल कांग्रेसका पूर्व जिल्ला सभापति हुन्। ११ औं महाधिवेशनको बेला उनी सभापपति थिए । अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा उठ्न खोजेको भएपनि महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उमेद्वार बन्न पाएका थिएनन्।
तरुणदल रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष घिमिरे गत जिल्ला अधिवेशनमा रामकृष्ण खाणसँग सचिवमा पराजित भएका थिए। उनी सियारी गाउँपालिकाका अध्यक्षका उमेद्वार पनि थिए।
गएको जिल्ला अधिवेशनमा सभापतिमा अब्दुल रज्जाकसँग भिडेका अष्टभुजा पाठक अहिले प्रदेश सभा सदस्य छन्। अहिले रुपन्देही ३ को क्षेत्रीय सभापति रहेका मात्रिका यादव गत चुनावमा सिद्धार्थनगर नगरपालिकाका मेयरका उमेद्वार पनि हुन्।
यी बाहेक हाल बुटवल उपमहानगर सभापति रहेका खेलराज पाण्डे र विद्यार्थी नेता मुक्ति पौडेलले पनि जिल्ला सभापतिमा आकांक्षा राखेको कार्यकर्ताहरु बताउँछन्। महाधिवेशन प्रतिनिधि जितेमा आफूले पनि सभापतिमा दाबी गर्ने पाण्डेले आफु निकटकालाई बताउने गरेका छन् । युवा पुस्ताको तर्फबाट पौडेल अघि बढ्न खोजेको चर्चा छ ।
चर्चामा रहेका उमेद्वारहरुले आकाक्षा व्यक्त गरेपनि खुल्ला रुपमा मुख भने खोलेका छैनन् । कांग्रेसको जिल्ला सभापति बन्न महाधिवेशन प्रतिनिधि चुनिनु पर्छ। महाधिवेशन प्रतिनिधि नभइकन जिल्ला सभापति बन्न योग्यता पुग्दैन । ‘अहिले धेरै चर्चा मात्र गर्ने तर महाधिवेसन प्रतिनिधि पनि आउन सकिन्न कि भन्ने पनि लागेको होला ।’ कांग्रेस रुपन्देहीका जिल्ला सह सचिव सुनिल मरासिनीले भने ‘त्यसैले धेरैले मुख खोलिहाल्नु भएको छैन ।’ असार मसान्तमा क्रियाशिल सदस्यता टुंगिएपछि महाधिवेशनको माहोल तात्ने मरासिनीले बताए।
अहिले आकाक्षी धेरै देखिए पनि अधिवेशनको नजिक पुगेपछि उमेद्वारहरु कम हुने कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारीको भनाई छ। ‘एक त जिल्ला सभापति बन्न महाधिवेशन प्रतिनिधि बन्नु पर्छ। चर्चामा आएका नाम मध्ये कति महाधिवेशन प्रतिनिधि बन्छन् ’ उनले भने ‘अधिवेशनको मुखमा पुग्दा केन्द्रको समीकरण कस्तो बन्छ । पार्टीको कुन समुहले कसलाई टिकट दिन्छ भन्नेमा पनि भर पर्छ।’