काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा एमिकस क्युरीले आफ्नो राय पेश गर्न लागेको छ । मुद्दामा पक्ष–विपक्षका वकिलको बहस सकिएपछि अब केहीबेरमा एमिकस क्युरीले बहस थाल्ने भएको हो ।
असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार रिट निवदेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरू बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए । योसँगै मुद्दामा पक्ष–विपक्षको बहस सकिएको हो ।
केहीबेर पछि एमिकस क्युरीका सदस्यले आफूले पाएको दुई घण्टा समयभित्र इजलासमा राय पेस गर्नेछन् ।
निर्धारित समयमै उनीहरूको पनि बहस सकिए संवैधानिक इजलासले सम्भवतः आजै मुद्दामा निर्णय सुनाउन सक्नेछ ।