काठमाडौँ - प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा आज निवेदकको पक्षबाट जवाफी बहस सकिएपछि एमिकस क्यूरी आफ्नो राय राख्ने छन् । प्रतिनिधी सभा विघटन विरुद्ध १ सय ४६ जना सांसदले दायर गरेको रिटमाथिको सुनुवाइ आज सकिन लागेको हो । रिटमा विपक्षी तर्फको बहस सकिएपछि आइतबारबाट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको थियो । आज २ जति जवाफी बहसपछि अर्को २ घण्टा जति एमिकस क्युरीले आफ्नो राय राख्ने छन् ।
सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ। निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला सार्वजनिक हुने संभावना धेरै रहेको छ।
असार ९ गतेदेखि निरन्तर हुँदै आएको सुनुवाइमा संवैधानिक इजलासले विनेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा, जवाफी बहसका लागि थप तीन घण्टा, विपक्षीलाई १५ घण्टा र एमिकस क्यूरीका लागि दुई घण्टा समय निर्धारण गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।