काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । उनले दुइ नेता एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म एकताको प्रयास निरर्थक हुने बताए ।
राष्ट्रियसभाको बैठक पछि संघीय संसद् भवन नयाँ वानेश्वरमा संञ्चारकर्मीसँग कुरा गर्दै गौतमले दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिरै लागेको उल्लेख गरे । 'पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ ।' उनले भने 'हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ ।'
माधव नेपाल केपी ओलीजी धेरै नै रिसाएको र केपी ओली पनि माधवसँग बेस्सरी रिसाएको गौतमको भनाइ छ । 'यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ता काम लाग्नेवाला छैन । म यी दुइटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु । उनले भने ।