काठमाडौँ - प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुँदै छ । संवैधानिक इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीहरुले बहस गर्नेछन्। सभामुखका कानून व्यवसायीलाई छुट्याइएको २ घण्टाको समयमा ५ जनाले बहस गर्ने छन् ।
त्यसपछि निवेदकको तर्फबाट जवाफी बहस हुने छ । निवेदकको जवाफका लागि तीन घन्टा समय छुट्याइएको छ । बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधिसभा विघटन बदर गर्न मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाई भइरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसद विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।