बुटवल - लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले बताएका छन् । तर सत्तापक्ष नेकपा एमालेले भने अहिले पनि मुख्यमन्त्री नेतृत्वको सरकार बहुमतमै रहेको दाबी गरेको छ ।
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले लुम्बिनी टाइम्ससँग कुरा गर्दै आफूहरु अल्पमतमा नभएको बताए । ‘अहिलेसम्म हामी अल्पमतमा छैनौ। दलिय प्रणालीको आधारमा प्रदेश सभा भित्र हामी नेकपा एमालेका ३९ सांसद छौं। जसपाका ६ जना अहिले पनि हामीसँगै भएको अवस्था हो ।’ उनले भने ‘दल विभाजित भएर सत्तापक्ष र विपक्ष भएर बस्न मिल्दैन त्यसको टुंगो हुन बाँकी नै छ । हाम्रो दलबाट निर्वाचित हुनुभएको विमला वली माओवादी केन्द्र प्रवेश गरेको कुरा चलेको छ। त्यो कानूनी रुपमा मिल्दैन । त्यसैले अहिले पनि बहुमत हामीसँगै छ।’
ढकालले जसपाको एक सांसदले राज्यमन्त्रीबाट राजिनामा दिएपछि थोरै समस्या भएको भन्दै मुख्यमन्त्री काठमाडौँबाट फर्केपछि त्यसबारे सल्लाह हुने बताए । ‘अल्पमतमा प¥र्यौ भने हामी सरकारमा बस्दैनौं भनेर मुख्यमन्त्रीले अभिव्यक्ती दिइसक्नुभएको छ ।उहाँ काठमाडौँबाट आएपछि थप सल्लाह हुन्छ।’ मुख्यमन्त्री शंकर पोखरेले अहिले एमालेको केन्द्रीय कमिटीको बैठकको लागि काठमाडौँमा छन् ।