बुटवल- शुक्रबार लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । अब पोखरेलको पक्षमा एमालेका ३८ जना र जसपाका ३ जना मन्त्री सहित ४१ सांसद रहेका छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाको १ जना गरि ४२ जना छन् ।
मुख्यमन्त्री अल्पमतमा पर्दा मुख्य गरेर बजेट परित हुने सम्भावना कम भएको छ । गत असार १ गते प्रस्तुत भएको बजेटमा छलफल सुरु हुन सकेको छैन । २७ गतेसम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको छ । छलफल पछि बजेट पारित गर्नको लागि निर्णयार्थ पेश हुँदा पक्ष र विपक्षमा ४१/४१ मत पर्न सक्छ । मत बराबरी भएमा सभामुखको मत निर्णायक हुन्छ । माओवादीका तर्फबाट सांसद भएका सभामुखले बजेटको विपक्षमा निर्णायक मत दिएमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट फेल हुने छ । बजेट फेल भएमा लुम्बिनी सरकारलाई नैतिक संकट पर्ने छ ।
तर बजेटको छलफल अघि नै विपक्षी गठबन्धनले मुख्यमन्त्रीलाई सत्ताबाट हटाउन लागी परेको छ । प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्रीले संसदमै बोलिसकेकाले अब राजिनामा दिनुपर्ने बताए । ‘राजनीतिक रुपमा अल्पमतमा परेंमा राजिनामा गर्छु भनेर मुख्यमन्त्रीले संसदमै औपचारिक रुपमा बोल्नुभएको छ । उहाँले राजिनामा दिनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’ उनले भने ‘विश्वाको मत लिनुभयो भने पनि उहाँको सरकार ढल्ने निश्चित छ । त्यसैले राजिनामा बाहेक अरु विकल्प नै छैन ।’
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले संसदमा प्रस्तुत भएको बजेट अब नयाँ सरकार आएपछि पारित हुने दाबी गरे । ‘बैशाख १९ गतेबाट हामी मुख्यमन्त्री विरुद्ध निरन्तर अघि बढेका छौ । हाम्रो स्टेप निरन्तर छ ।’ उनले भने ‘अब नयाँ सरकार आएपछि नै बजेट परित हुन्छ ।’
विपक्षी गठबन्धनले यस अघि मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दुईपटक अविश्वासको प्रस्ताव ल्याएका थिए । बैशाख ६ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा बैशाख १९ गते छलफल हुने तय भएको थियो । तर सोही दिन शंकर पोखरेलले राजिनामा दिएर पुन मुख्यमन्त्री नियुक्त भएका थिए । उनको सपथ अघि नेकपाबाट उपचुनाव जितेकी विमलाकुमारी खत्रीले माओवादी केन्द्रमा भएको घोषणा गरेकी थिइन।
कपिलबस्तुका दृघनारायण पाण्डेले राजिनामा दिएका थिए । यता कांग्रेस, जसपाका उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका सांसदको समर्थनमा माओवादीका कुलप्रसाद केशीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अन्तत प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री कार्यालयमै पुगेर शंकर पोखरेललाई सपथग्रहण गराएका थिए । त्यस यता विपक्षी गठबन्धनले प्रदेश सरकार अबैधानिक भएको बताउँदै आएका छन्। विपक्षी गठबन्धनले दोस्रोपटक अविश्वासको प्रस्ताव ल्याएर विशेष अधिवेसन माग गरेका थिए । तर प्रदेश प्रमुखले बैठक बोलाउन अस्विकार गरेका थिए।
यसपटक अविश्वाको प्रस्ताव ल्याउने भन्दा पनि मुख्यमन्त्रीलाई विश्वासको मत लिनमै जोड दिने माओवादीका प्रमुख सचेतक घर्तिले बताए । ‘उनी आँफै अवैधानिक र अल्पमतमा छन्। त्यस्तोलाई के अविश्वासको प्रस्ताव राख्ने।’ उनले भने ‘बजेट त फेल हुन्छ, त्यस अघि छिटो विश्वासको मत लिन मुख्यमन्त्रीलाई हाम्रो जोड हुन्छ ।’