बुटवल- प्रदेश सभाको भौतिक पूर्वाधार विकास समितिको टोली अहिले अनुगमनको लागि रुकुमपूर्व जिल्लामा छ । स्वर्णकार सहित पुष्पा चौधरी र तारा जिसी केही दिन रुकुम सहित प्युठान रोल्पा जिल्लामा अनुगमनको नाममा घुमफिर गरिहेका हुन् ।
‘हामीले सरकारको निगरानी गरेको हो । भुक्तानी दिएका छन कि छैनन् । राम्रो काम भएको छ कि छैन भने र अनुगमन गरेका हौं ।’ समितीकी सभापति स्वर्णकारले भनिन् ‘रुपन्देही, नवलपरासी र कपिलबस्तुमा एउटा टोली खटिँदै छ । यस्तै दाङ बाँके बर्दियामा अर्को टोली छ ।’
रुकुम लगायतका जिल्लामा अनुगमन भइसकेपछि बाँकी जिल्लामा अनुगमन सुरु भएको छैन । तर छिट्टै सुरु गर्ने तयारी छ । रुपन्देही सहितका जिल्लामा वीरबहादुर राना, फखरुद्धिन खान, जाल्पा भुसाल र सहसराम यादवलाई तोकिएको थियो ।
आफूलाई अनुगमनको लागि खबर आएको काठमाडौँमा भएकाले जान नसकेको समितिका सदस्य सहश्रराम यादवले बताए। ‘अनुगमन गर्न जाने भनेर मलाई पनि खबर त आएको थियो । म काठमाडौँ छु । साथीहरु गए कि ।’ उनले भने । अर्का सांसद फखरुद्धिन खानले पनि अनुगमनको खबर आएको आफू बाहिर भएकाले आएर सुरु गर्ने जनाए।
प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिले चैत्रमै बैठक बसेर अनुगमन गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारी र लकडाउनको कारण हुन सकेको थिएन । तर अहिले आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्न अनुगमनमा हिडेका छन् । गत असार १ गते आगामी आर्थिक वर्षको २०७८/७९ को लागि लुम्बिनी प्रदेश सरकारले बजेट ल्याएको थियो ।
सत्ता पक्ष र विपक्षी दलबीचको विवादका कारण बजेट सम्बन्धमा छलफल सुरु हुनै सकेको छैन । असार २७ गते सम्म प्रदेश सभा बैठक स्थगित छ । सत्ता र विपक्षी दलबीचको विवादले बजेट माथि छलफल हुन नसकेपनि दुबै पक्षका प्रदेश सभा सदस्यहहरु अनुगमनको नाममा अहिले जिल्ला जिल्ला घुमिरहेका हुन्।
प्रदेश सभाको अर्को संसदीय समिति सामाजिक विकास समितिका सदस्यहरु पनि अहिले अनुगमनको नाममा जिल्ला जिल्ला घुमिरहेका छन्।
प्रदेश सांसदहरु अर्जुनकुमार केसी, अर्जुनकुमार श्रेष्ठ र तेज बहादुर ओलीको टोली रुकुम पूर्व लगायतका जिल्लामा ३–४ दिन घुमेर फर्किएको छ । ‘कोरोना र स्वास्थ्य सम्बन्धी अवस्था के कसो छ भनेर अनुगमन गर्न गएका थियौ।’ प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठले भने ‘रुकुमबाट फर्कदा बर्खाले बाटो बन्द भएर रोकिनुपर्यो, फर्केपछि साथीहरु बिरामी भएपछि अहिले गएका छैनौ। पछि फेरि सुरु गर्नुपर्ला।’
यस अघि सामाजिक विकास समितिको सभापति रहेका दृगनारायण पाण्डे प्रदेश सांसद छोडेर राष्ट्रिय सभामा गएपछि ज्येष्ठ सदस्यको हिसाबले बाबुराम गौतम समितिको सभापति छन् ।
गुल्मी, अर्घाखाँची, रोल्पा र प्युठान बाहेकका अरु ८ वटा जिल्लामा अहिले टिम बाँडेर अनुगमन गरेको गरेको समितिका सभापति गौतमले बताए । ‘बर्खाले गर्दा अहिले आठ वटा जिल्ला मात्र अनुगमन गर्दै छौं । तीन टोली भएर हिडेका छौं ।’-उनले भने-‘असार ११ गतेदेखी हामीले अनुगमन सुरु गरेका हौं। २६ गतेसम्म गर्छौ।’ जिल्ला जिल्लामा कोरोनाको अवस्था केछ । दोस्रो लहरमा के कस्तो क्षति भयो । तेस्रो लहर आयो भने कसरी अघि बढ्न सकिन्छ भनेर अध्ययन गर्न अनुगमन गरेको सभापति गौतमले बताए।
अनुगमनमा गए वापत प्रदेश सांसदको लागि छुट्दै भत्ता हुने गर्दछ । त्यसरी जाँदा दिनको २ हजार रुपैया भ्रमण भत्ता पाउने गरेको प्रदेश सभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरीले बताए । अहिले अनुगमनमा खटिएको दुइ वटा संसदीय समितिमा अहिले २३ जना सांसदहरु रहेका छन् ।
यसरी असारको अन्तिममा हुने अनुगमनको उपलब्धि नहुने र बजेट पचाउने काम मात्र हुने भन्दै आलोचना हुने गरेको छ।
नेपाल सरकारका पूर्व सचिव तथा ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका कार्यसमिति सदस्य कृष्ण ज्ञवालीले असारको अन्तिममा आएर गरिने संसदीय अनुगमनले सहि सन्देश नजाने बताए।
‘अनुगमन आफैमा नराम्रो होइन, नियमित रुपमा भएको छ र तालिकाबद्ध रुपले भएको हो भने सहि मान्नु पर्छ ।’ उनले भने ‘बिचमा नगरेर यो बेला आएर मात्र गरिएको हो भने समय सान्दर्भिक होइन। अहिले मात्र गरिएको अनुगमनले गलत सन्देश पनि जानसक्छ।’ ज्ञवालीले अनुगमन उपलब्धिमूलक पनि हुनुपर्ने नतिजा राम्रो आउनुपर्ने बताए बताए ।