काठमाडौँ-नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
बालुवाटारमा मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।
बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णयसमेत गरेको छ।
बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै एमालेको आज दशौँ महाधिवेशन आयोजक कमिटी बैठक बस्दैछ। मंगलबारसम्म बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ११ नेतालाई नबोलाइएको जानकारी दिए।
१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने सचिव तामाङले जानकारी दिए।