बुटवल- गृह तथा अर्थमन्त्री विष्णु पौडेलले अब निर्वाचनको विकल्प नभएको बताएका छन्। प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा विघटन भएर नयाँ जनादेशमा जान बाध्य भएको उनले बताए।
अदालतमा यसबारे मुद्दामामिला चलेपनि लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने उनको तर्क छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अरु दलहरूले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए।
शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै उनले निर्वाचन नै अबको निकास भएको बताए। पौडेलले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरेकोमा अनपेक्षित दृश्य देखा परेको बताए। उनले सरकारले निर्वाचनमा व्यक्त गरेअनुसार विकासका नयाँ-नयाँ काम गरेको बताए।