बुटवल–प्रदेश नं ५ को प्रदेश सभामा सांसदहरुले असिना पानीले पुराएको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन्। बैठकमा प्रदेश सभा सदस्यहरुले गत फागुन ३० गते र चैत १ गते परेको असिना पानी र चट्याङ्गका कारण प्रदेशका बिभिन्न जिल्लामा भएको जनधनको क्षतिबारे जानकारी गराउदै स्थलगत अनुगमन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरे।
प्रदेशसभा सदस्य रामजी घिमिरेले असिना पानीले अर्घाखाँचीको शीतगंगा नगरपालिका र भूमिकास्थान गाउंपालिकामा ए÷(एक जना गरी दुईजनाका मृत्यु भएको र अन्नबालीमा ठूलो क्षति भएकाले राहत तथा क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।
अर्का प्रदेशसभा सदस्य कूलप्रसाद पोखरेलले बर्दियामा असिनापानीसँगै चट्याङ पर्दा दुईजनाको मृत्यु भएको र अन्नबाली नष्ट भएकोले स्थलगत अवलोकन गरी राहत तथा क्षतिपूर्ति दिन माग गरे।
त्यसैगरी प्रदेशसभा सदस्य बिर बहादुर रानाले पाल्पा, धमकली चौधरीले दाङ, धर्मबहादुरलाल श्रीवास्तवले कपिलबस्तु जिल्लामा असिना पानीले पु¥याएको क्षति बारे जानकारी गराउदै उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका थिए।
बैठकमा प्रदेश सभा सदस्यहरु डिल्लीबहादुर चौधरी, भोजप्रसाद श्रेष्ठ, दीपा विक, विजयबहादुर यादवले बिभिन्न बिषयमाा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
अडियो काण्डबारे चर्किए सांसद्
मंगलबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु वीरबहादुर राना र फखरुद्दिन खानले उक्त अडियो काण्डमा प्रदेश सरकारका दुईजना मन्त्रीहरुको नाम समेत जोडिएकाले निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।
प्रदेश सभा सदस्य बीरबहादुर रानाले सत्तारुढ पार्टी सम्वद्ध कलाकारको अडियो सुन्दा मुलुकमा कोरोना भाइरसभन्दा पनि खतरानाक रुपमा कम्युनिस्ट कार्यकर्तामा बहुमतको आडमा मनपरी गर्ने मनोवृत्तिले सीमा नाघेको आभास भएको बताए।
‘कम्युनिस्ट कार्यकर्ताले मन्त्री र सीडीओलाई थर्काउने, युवा संघ परिचालन गरेर मेला बन्द गराउनेसम्मका हर्कत गर्नु कोरोना भाइरसभन्दा खतराको विषय हो,’ सांसद रानाले भने, ‘मन्त्रीहरुको समेत नाम मुछिएको छ, छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ।’
अर्का प्रदेश सभा सदस्य फकरुद्दिन खानले नेकपा निकट कलाकार नारायण खनाल (लेकाली)ले बोलेको कुरा व्यक्तिगत नभइ सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरे।
जनताको करबाट उठेको रकमलाई कम्युनिस्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको र कम्युनिस्टका कलाकारलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सीडीओलाई दबाब दिएर मेला बन्द गराउनुले विधिको शासन र कानुनी राज्यको उपहास भएको बताए।
जनताले तिरेको करलाई पार्टीको पैसा भन्ने, यो प्रवृत्ति बहुमतको दम्भमा कम्युनिस्टहरुको राज्य आतंकको नमूना हो,’ सांसद खानले भने, ‘अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएकोले संसदीय समिति बनाएर त्यसको निष्पक्ष छानबिन हुनुपर्छ।’
कलाकार लेकालीले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी र सामाजिक विकासमन्त्री सुदर्शन बराल र सीडीओ महादेव पन्थलाई फोन गरेर÷थर्काएर मेला बन्द गराएको फोन संवादमा बोलेका थिए।
लेकालीले मेला महोत्सवमा नेकपा निकट कलाकारलाई नबोलाए प्रदेश ५ भरि नै मेला महोत्सव गर्न नदिने धम्की दिएका थिए। उनले कम्युनिस्टको ठाउँमा कांगे्रसका कलाकारलाई स्टेजमा बोलाउँदा ढुंगामुढा खानु स्वभाविक भएको पनि बोलेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको मेला एकहप्ता नहुंदै स्थगित भएको थियो।
आजको बैठकमा प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए भने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले ‘सडक निर्माण,मर्मत–सम्भार तथा बिस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको’ विधेयक पेश गरेका थिए।
प्रदेश सभाको अर्को बैठक यही चैत ५ गते दिउसो १ बजे बस्ने गरी स्थगित भएको छ।