काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचन घोषणा गरेकी थिइन् । सोही कदमविरुद्ध परेका रिटमा आजबाट सुनुवाइ सुरु हुन लागेको हो ।
सबैभन्दा पहिला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहितको रिटमा सुनुवाइ हुने छ । सर्वोच्चमा ३० रिट परेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै १४६ जना सांसदले सर्वोच्च पुगेर रिट दायर गरेका थिए ।
देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहेको भन्दै १४९ सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमाले संसदीय दल र जनता समाजवादी पार्टीको संसदीय दलले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको दाबी शितल निवासमा प्रस्तुत गरेका थिए ।
तर, राष्ट्रपतिले दुबै मागदाबी खारेज गर्दै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।