बुटवल - सर्वाेच्च अदालतले हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका जसपाका चार जना सांसदले दायर गरेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीस दिपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजालसले रिट निवेदनलाई पूर्ण सुनवाइको लागि पेश गर्ने आदेश दिएको हो ।
जसपाका सन्तोषकुमार पाण्डे विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले दायर गरेको रिटमा यस अघिकै अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाएको सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। 'मुद्दाको अन्तिम सुनुवाइको लागि पेश हुने भन्ने हो। नियमबमोजिम फेरि पेशी चढेर जान्छ।' उनले भने 'यसअघि जुन अन्तरकालिन अन्तरिम आदेश छ त्यो कायमै रहने भयो । रिटलाई स्पष्ट रुपमा खारेज नभएसम्म त्यो कायमै रहन्छ ।'
यो आदेश सँगै अन्तिम सुनवाइ नभएसम्म चार जनाको सांसद पद कायमै रहेको छ।
मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको उनीहरु बैशाख ६ गते प्रदेश सरकारमा मन्त्री बन्न गएका थिए । पार्टीको निर्णय विपरित मन्त्री बन्न गएको भन्दै जसपाको उपेन्द्र यादव पक्षले चार जनालाई कारवाही गरेको थियो । कारवाहीको सुचना प्रदेश सभा सचिवालयबाट जारी भएपछि उनीहरु पदमुक्त भएका थिए । महन्त ठाकुर पक्षले भने एक पक्षिय कारवाही मान्य नहुने बताएको थियो ।
कारवाहीको सूचनाविरुद्ध सन्तोष पाण्डे लगायत चार जनाले प्रदेश सभा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । जेठ ३ गते सर्वोच्च अदालतले कारवाहीको सुचना तत्कालको लागि कार्यान्वयन नगर्नु भनि अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।