बुटवल- विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् । विपक्षीले बहिस्कार गरेपछि प्रदेश सभा बैठक सवा ३ बजेसम्मको लागि स्थगित भएको छ ।
उनीहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका हुन् । प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।
उनले पहिले सरकारले आफ्नो बैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरे । 'बजेटको बारेमा त भन्दै गरौंला पछि पहिले यो सरकारले आफ्नो बैधानिकता प्रमाणित गरोस् । सरकार बैधानिक रुपमा प्रमाणित भएपछि हामीले बजेटको विषयमा गहन रुपमा छलफल गर्छौ ।' कनौडियाले भने ।
विगतको ३ वर्ष भन्दा पनि यो पटक खराब बजेट आएको कनौडियाले बताए । 'मुख्यमन्त्रीले हामीलाई पैसा छैन अहिले सबै कोभिडमा जान्छ भन्नुभएको थियो । स्वास्थ्यमा पैसा छुट्याएकोमा हामीलाई आपत्ती छैन ।’ उनले भने ‘कार्यकर्ता पोस्ने पाल्ने हिसाबले उहाँले कहाँबाट बजेट ल्याउनुभयो।’
गण्डकी प्रदेशले एक अरब कोभिड विरुद्धको खोपलाई छुट्याएको भन्दै कनौडियाले लुम्बिनी सरकारले बजेटमा खोपलाई उपेक्षा गरेको बताए । ‘एक अरब रुपैया उसले खोपको लागि छुट्याएको छ । तपाईहरुले गर्न सक्नुभयो ?’ ‘तपाईहरु त आफ्नो कार्यक्रमलाई पाल्ने पोस्ने कसरी आफ्ने दुनो सोझो हुन्छ त्यही हिसाबले बजेट ल्याउन मिल्छ ।’
कनौडिया बोलेर सके लगत्तै विपक्षी गठबन्धनका सांसदले बैठक छोडेर बाहिरिएका थिए । विपक्षी सांसदहरु बाहिरीएपछि सभामुख पूर्णबहादुर घर्तिले सवा ३ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।