काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको छ।
प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको हो।
यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले २८ फागुनमा प्रधानमन्त्री ओलीलाई उनकै वार्डमा भेटेकी थिइन्। त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौला दाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।
प्रधानमन्त्री डिस्चार्ज हुनेभएपछि मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा महासचिव विष्णु पाैडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका अन्य नेता तथा सुरक्षा निकायका प्रमुखहरू शिक्षण अस्पताल पुगेका थिए।