बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को स्थायी राजधानी चालु अधिवेशनबाटै टुंगो लगाउने तयारीमा रहेको बताएका छन्।
प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै उनले भने-प्रदेश सभाको जिम्मेवारीअनुसार सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी टुंगो लाग्छ, मैले शुरुदेखि नै भन्दै आएको छु, ३ वटा आञ्चलिक मनोविज्ञान रहेकाले त्यसलाई साझा प्रतिनिधित्व हुनेगरी प्रदेशको स्थायी राजधानी तय गर्नुपर्छ।'
प्रदेश सभा सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रलाई आधार मानेर राजधानीबारेको छलफल चलाएको विषयलाई संकेत गर्दै मुख्यमन्त्री पोखरेलले भने-प्रतिनिधित्व जहाँबाट गरेपनि प्रदेश सभामा आएपछि सिंगो प्रदेशलाई हेर्नुस्, चुनाबका समयमा मैले के भनेको थिएँ मैले बिर्सिसकेँ, तपाइँहरुले पनि बिर्सिनुस्।'
आफ्ना ठाउँका कुरा भन्दा पनि प्रदेशका साझा कुराहरुलाई बढी जोड दिन आग्रह गर्दै मुख्यमन्त्रीले भने-आफ्नो क्षेत्रका भन्दा बढी प्रदेशका कुरा गरौ त्यसो गर्दा साझा विन्दु फेला पर्छ।'
उनले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रदेशको राजधानी माग्ने विषय नभई साझा रुपमा टुंगो लगाउनेतर्फ लाग्न सुझाव दिए। 'चालु अधिवेशनबाट टुंगो लगाउनका लागि सबै आग्रहबाट मुक्त भएर लाग्नुपर्छ, आञ्चालिक मनोविज्ञानलाई आधार मानेर समीकरण तर्फ लाग्ने हो भने प्रदेशलाई पहिलो बनाउन सकिदैन, उनले भने-साझा जिम्मेवारीका साथ विनाकुनै तनाब समाधान गर्नुपर्छ।'
राप्ती, भेरी र लुम्बिनी क्षेत्रको संवेदनशीलता बुझ्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे।