भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चाहेअनुसार समाज बदल्न नसकिएको बताएका छन्। उनले राजा, राणा, पञ्चायत र बिद्रोही शत्तिको आन्दोलन तथा समाजको मनोबिज्ञानका कारण चाह अनुरुप समाज परिवर्तन गर्न नसकिएको बताए।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा बुधबार भैरहवामा भएको मुख्यमन्त्रीसंग युवा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले झण्डै ६ दशक राज्यविरुद्धको संघर्षमा समय बितेका कारण समाज बदल्न नसकिएको बताए।
उनले सबैकुरा एकै पटक नहुने भएकोले सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए। समाजमा रहेका युवाहरु विदेश जानुपर्ने परिस्थितिको अन्त्य गर्न सरकार लागेको बताउदै उनले आशावादी भएर युवालाई काम गर्न आग्रह गरे।
आफ्नो देशमा पाएको काम नगर्ने तर अन्यत्र गएर त्यही काम गर्ने समाजको मनोविज्ञान छ, यहाँ भएका कामहरु विदेशबाट आएर युवाहरुले गरेका छन्, त्यसैले मनोविज्ञानमा बदलाव जरुरी छ, मुख्यमन्त्री पोखरेलले भने। आम्दानी गर्ने भन्दा पनि देखाउने कामलाई बढी महत्व दिदा यस्तो परिस्थिति उत्पन्न भएको मुख्यमन्त्री पोखरेलको भनाई छ।
उनले आफ्नो परिवारमै बसेर गर्न सकिने असंख्य काम नेपाल भित्रै भएपनि त्यो काम नगरिदा बेरोजगारी देखिएको बताए । विभाजनकारी मानसिकताले युवाहरु खाडी मुलुक जाने गरेको उनको भनाई छ।
प्रदेश ५ सिमेन्ट उद्योगको हब बन्दै गएको छ, ती उद्योगमा काम गर्ने अधिकाशं कामदार भारतीय नागरिक छन् मुख्यमन्त्री पोखरेलले भने नेपालीहरुले आफ्नो देशमा भएका उद्योगहरुमा सबैखाले काम नगर्दा बाध्य भएर अन्य मुलुकबाट कामदार लिएर काम गर्नु परेको छ। कृषिमा बदलाव नगरेसम्म नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिने उनको भनाइ थियो।
संघीयता आइसकेपछि करका दर बढे भन्ने कुरा प्रदेश ५ को हिसाबले सत्य नभएको उनले दावी गरे। समाजमा राम्रा सोचलाई उजागर युवाहरुले गर्नुपर्ने उनले बताए । प्रदेश सरकारले युवाहरुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेतर्फ अगाडी बढेको उनले बताए।
कार्यक्रममा प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका युवाहरुलाई रचनात्मक काममा लैजान प्रदेश सरकारले ठोस कार्यक्रम अगाडी बढाउने बताए। उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारका कार्यक्रमहरु अगाडी बढेको बताए। उनले युवाका सपना र आवश्यकतालाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताए। युवालाई अगाडी बढाउने दायित्व प्रदेश सरकारको रहेको उनको भनाइ थियो। युवा कस्तो हुनपर्छ भन्ने नयाँ बहस आवश्यक रहेको मन्त्री बरालले बताए।
जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष बसन्त ढकालले युवाहरुलाई विदेशिनबाट रोक्नुपर्ने बताए। उनले युवाहरुलाई उद्यमशिल कसरी बनाउने भन्नेतर्फ सरकारको कार्यक्रम अगाडी बढ्नुपर्ने बताए। उनले युवाहरुलाई परिचालन गर्न सकिए मात्र प्रदेश समृद्ध बनाउन सकिने बताए।
कार्यक्रममा सहभागि विभिन्न संघ–संस्था तथा क्लबमा आबद्ध युवाहरुले प्रदेश युवा परिषद गठन गर्नुपर्ने, युवाहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने, लैंगिकमैत्री वातावरण हुनुपर्ने, संघ–संस्थाहरु स्थानीय तहमै दर्ता र नविकरण हुनुपर्ने, युवाहरुलाई रोजगार दिनेतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्ने, उद्योगहरुमा स्थानीय युवाहरुलाई नै रोजगारी दिनुपर्ने लगायतका सुझाव दिएका थिए।