बुटवल - रुपन्देहीमा नेपाली कांग्रेसका ११ हजार क्रियाशिल सदस्यता थप भएको छ । कांग्रेसको आगामी १३ औं महाधिवेसनको हालै मात्र नयाँ क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार रुपन्देहीमा ११ हजार नयाँ सदस्य थप भएका हुन् ।
अब रुपन्देहीमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या २१ हजार भन्दा बढि पुगेको जिल्ला सचिव रामकृष्ण खाणले जानकारी दिए । 'हाम्रो पुरानो क्रियाशिल १२ हजार थियो । त्यसमा कोही बसाइसराई गरे, केही बृद्ध पनि भए, कतिपयको मृत्यु पनि भयो होला, केहीले नविकरण गरेनन यसले १० हजार २ सय जति पुरानो कायम छ ।’ उनले भने ‘त्यसमा ११ हजार जति थप भएर २१ हजार भन्दा केही बढी पुगेको छ।’ केन्द्रबाट अन्तिम नामावली आउँदा त्यसमा केही घटबढ हुन सक्ने खाणले बताए।
परिमार्जित तालिका अनुसार नेपाली कांग्रेसको महाधिवेसन भदौ १६ गतेदेखी १९ गतेसम्म काठमाण्डौमा सुरु हुने छ । त्यस अघि साउन ६ गतेबाट तल्ला तहको अधिवेसन सुरु हुनेछ । जस अनुसार साउन ६ गते वडा अधिवेसन हुने छ ।
त्यसै गरि साउन ११ गते गाउँपालिका र नगरपालिकाको अधिवेसन, १६ गते प्रदेश सभा क्षेत्रीय अधिवेसन, २० गते प्रतिनिधि सभा क्षेत्रिय अधिवेसन, २४ गते जिल्ला अधिवेसन हुने छ । त्यसै गरी भदौ १ र २ गते प्रदेश अधिवेसन हुने छ । यो तालिकालाई कांग्रेसको पदाधिकारी बैठकले प्रस्ताव गरेको छ भने केन्द्रीय समितिबाट निर्णय हुन बाँकी छ ।
क्रियाशिल सदस्यहरुले वडा र गाउँ नगरको नेतृत्व छान्न मतदान गर्न पाउनेछन्। त्यसै गरी क्षेत्रीय प्रतिनिधि पनि चुन्न पाउने व्यवस्था छ । चुनिएका क्षेत्रिय प्रतिनिधिले क्षेत्रिय समिति, जिल्ला समिति र प्रदेश तथा केन्द्रिय महाधिवेसन प्रतिनिधि छान्ने छन्। महाधिवेसन प्रतिनिधिले प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्ने छ ।