बुटवल- राष्ट्रिय सभाको एक सिटको लागि लुम्बिनी प्रदेशमा जेठ १७ गते उपचुनाव भएको थियो । उपचुनावमा कांग्रेसका दृगनारायण पाण्डेले एमालेका उमेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए । उपचुनावमा प्रदेश सभाबाट पाण्डेले ४२ जनाको मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए ।
उपचुनावलाई आधार मान्दा मुख्यमन्त्री अल्पमतमा परेको विपक्षी गठबन्धनको दाबी थियो। कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले चालु अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको उदाहरण दिएर सरकार अल्पमतमा परेको बताएका थिए।
‘राष्ट्रियसभाको उपनिर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट सन्देश दिएको छ । भोलि बजेट पेश हुन्छ, नीति कार्यक्रम पेश हुन्छ त्यो फेल भयो भने सरकारले के गर्छ’-उनले प्रश्न गरेका थिए ।
मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रममा शुक्रबारबाट छलफल सुरु भएको थियो । छलफलका क्रममा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले नीति कार्यक्रमको विषयबस्तु भन्दा पनि प्रदेश सरकारको आधिकारिकता बारे प्रश्न उठाएका थिए।
प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्रीले आइतबार राजनीतिक रुपमा ४५ जनाको संख्या सहित बहुमतमा रहेको दाबी गरे।
‘यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ। जनता समाजवादीका सांसद र विमलाजीको कुरालाई प्रष्ट रुपमा मानिदिनुस् । ३९ जना एमालेका र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन छ'-उनले भनेका थिए-'तर व्यवहारमा त्यस्तो भएन । विमलाजीको दल परिवर्तन संसदले गर्न मिल्दैन । जनता समाजवादीका २ जना सांसद प्रतिपक्षमा हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।'
विपक्षीहरुले सरकार अल्पमतमा रहेको दाबी गरिरहँदा नीति कार्यक्रम पारित होला कि नहोला भन्ने धेरैलाई जिज्ञाशा थियो । कतै एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस अथवा अनुपस्थित हुन्छन् कि भन्ने अनुमान पनि थियो । आइतबारको प्रदेश सभा बैठकमा सबै सांसद उपस्थित थिए ।
उठेका प्रश्नको जवाफ दिएपछि मुख्यमन्त्रीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर प्रदेश सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । नीति कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्न खोज्दा विपक्षी गठबन्धनका एक सांसद उठेर मत विभाजन गर्न माग गरेका थिए ।
तर सभामुखले प्रदेश सभाको अवस्था आफूलाई थाह भएको भन्दै ध्वनि मत प्रक्रिया नै अगाडि बढाए। ‘संयोगवश आज सत्ता पक्ष र प्रतिपक्षका सबै माननिय सदस्यहरु उपस्थित हुनुहुन्छ । मलाई प्रष्ट अनुमान हुन्छ र यसको भिडियो रेकर्ड पनि हुन्छ। यो प्रक्रिया अगाडि बढाउँदा कुनै माननिय सदस्यलाई चित्त बुझेन भने हाम्रो प्रदेश सभाको नियमावलीको प्रक्रिया अनुसार अगाडि बढाउने जानकारी गराउन चाहन्छु ।’
सभामुखले प्रदेश सभामा यो जानकारी गराएपछि निर्णयार्थ प्रस्तुत गरेका थिए र ध्वनि मतले नीति कार्यक्रम पारित भएको थियो ।
त्यसमा कोही पनि सांसदले असहमति प्रकट गरेनन् । यदि सभामुखले पारित भएको जानकारी गराउँदा १० प्रतिशत सांसदले आ–आफ्नो स्थानमा उठेर असहमति जनाएमा अर्को प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत हुन सक्थ्यो ।
यसबारेमा प्रदेश सभा नियमावालीको नियमको २७ र २८ मा उल्लेख छ । नियम २७ को उपनियम २ मा भनिएको छ ‘उपनियम १ बमोजिमको प्रस्तावलाई निर्णयार्थ पेश गरेपछि सभामुखले हुन्छ वा हुन्न भन्ने सदस्यहरु मध्ये जुन पक्षको बहुमत भएको ठहर्याउँछ सो कुराको घोषणा गर्नेछ र सभामुखको विचारप्रति नियम २८ अनुसार असहमति प्रकट नगरिएमा सभामुखको घोषणा सभाको निर्णय मानिनेछ.... ।.’
नियम २८ मा सभामुखको विचार प्रति प्रदेश सभाको कुल सदस्य संख्याको १० प्रतिशत सदस्यहरुले आ आफ्नो स्थानमा उभिइ असहमति प्रकट गरेमा सभामुखले हुन्छ वा हुन्न भन्ने सदस्यहरुलाई विभिन्न प्रक्रियाबाट मत संकलन गर्ने उल्लेख छ ।
जसमा प्रत्येक सदस्यलाई हुन्छ वा हुन्न भन्ने उच्चारण गर्न लगाउने, हुन्छ वा हुन्न भन्ने सदस्यलाई भिन्दा भिन्दै ढोकाबाट प्रवेश गराउने, स्वचालित मत अभिलेख यन्त्र सञ्चालन गर्ने लगायत रहेको छ । यस्तै सभामुखले सांसदहरुलाई आ आफ्नो स्थानमा उठ्न लगाएर पनि हुन्छ र हुन्न भन्न लगाउन सक्ने व्यवस्था नियमावलीमा छ ।
तर विपक्षी सांसदहरुले अर्को पक्रियामा जान भने माग गरेनन्। कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले सभामुखको निर्णयलाई स्वीकार गरेको बताए । ‘हाम्रो तर्फबाट मतविभाजनको कुरा उठाएका थियौं । सभामुख ज्युले प्रष्ट देखेका छौं हात उठाउनुस हामीले त्यही हिसाबले गणना गर्छौ भन्नुभयो, प्रक्रियामा गयो’-उनले भने ।
नेकपा माओवादी केन्द्रकी सांसद दामाकुमारी शर्माले सभामुखले भनेपछि आफूहरु अगाडि नबढेको बताइन् ‘हामी प्रतिपक्षको तर्फबाट उठेर गणना गर्न माग गरेका थियौं । पुरानै प्रक्रियामा जाऔं भन्नुभयो हामीले स्वीकार गर्यौं’-उनले भनिन् ।
राष्ट्रिय सभाको गोप्य चुनावमा जे भएपनि नीति कार्यक्रमका क्रममा एमालेकै माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना कमै थियो ।
यसको पछिल्लो उदाहरण अन्य प्रदेशमा पनि देखिएको थियो । पछिल्लो पटक वागमती प्रदेशमा नीति कार्यक्रम पारित गर्न एमालेका दुबै पक्षले संयुक्त ह्वीप लगाएका थिए ।
नीति तथा कार्यक्रम पारित भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको भनाइलाई सत्ता पक्षले प्रतिरक्षा गर्ने र बजेट ल्याउने बाटो पाएको छ । तत्कालको लागि प्रदेश सरकारको नैतिक संकट पनि टरेको छ ।