बुटवल-विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेको बताइरहेका भएपनि प्रदेश सभाबाट नीति कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउन सहज भएको छ।
विपक्षी दलहरुले नीति कार्यक्रम फेल गराउने रणनीति बनाएको भएपनि सदनमा उपस्थित सांसद संख्याका आधारमा सभामुखले नीति कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।
नीति कार्यक्रम पारित गरियोस् भन्ने मुख्यमन्त्रीको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुअघि नीति कार्यक्रम कसरी पास हुन्छ भन्ने जिज्ञासा राखेका माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीलाई संख्याका आधारमा हुने जनाएका थिए।
त्यसपछि उनले ध्वनिमतका आधारमा पक्ष र विपक्षमा मत व्यक्त गर्न आह्वान गरेका थिए। नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्तावका पक्षमा बहुमत रहेकाले बहुमतले नीति कार्यक्रम पारित भएको घोषणा उनले गरेका थिए।
सदनबाट नीति कार्यक्रम पारित भएसँगै संसदबाटै बजेट ल्याउन अलमलमा रहेको सरकारलाई सहज भएको छ।
सदनमा नीति कार्यक्रम पारित नभए अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहेको सरकारलाई सदनबाटै बजेट ल्याउन सहज भएको हो।
यसअघि मुख्यमन्त्रीले विपक्षी दलका नेताहरुलाई भेटेर सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र बजेट ल्याउने वातावरण तयार गर्न अनुरोध गरेका थिए।
उनले नीति कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदै आफुले सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र सदनका कामकारबाहीलाई निरन्तरता दिनका लागि विपक्षी दलका नेताहरुलाई पटक पटक भेटेर छलफल गरेको बताएका थिए।