बुटवल-जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा नीति कार्यक्रमको विपक्षमा उभिन ह्वीप जारी गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पक्षमा मतदान गर्ने भएकाले जसपाले नीति कार्यक्रम फेल गराउन ह्वीप लगाएको हो। उनीहरू जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका हुन्।
संसदीय दलका नेता सहषराम यादवको निर्देशनमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक पुर्मति ढेंगा मगरले बताएकी छन्।
लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षमा छन्। बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षमा २ जना छन्।
सरकार निर्माणमा एमालेलाई साथ दिएपछि ४ जनालाई जसपाले कारबाही गरेपछि उनीहरूको सांसद पद गुमेको थियो।
जसविरुद्ध उनीहरू सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनीहरुलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको थियो। सर्वोच्चमा यो विषय विचाराधीन छ।