बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारका पक्षमा राजनीतिक रुपमा ४५ जना सांसद रहेको दाबी गरेका छन्।
आइतबार प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकार गठनका विषयमा सांसदहरुले उठाएका विषयमाथि जवाफ दिदै सरकारसँग बहुमत रहेको बताए।
उनले प्रदेश सभा सचिवालय र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै उनले प्रदेश सभाले राजनीतिक दल परिवर्तन र एउटा दललाई दुइ व्यवस्था गरेको बताए।
उनले सभामुखले संविधानको संरक्षणकारीको भूमिकामा हुनुपर्नेमा दल परिवर्तन र एउटा दललाई दुई व्यवस्था गरेको बताए।
उनले संसदमा सरकार गठनको अवस्थाका बारेमा बोलेका विषयको मुख्य अंश
सरकार गठन भएको दिन १९ गते के भयो भन्ने विषयमा धेरै कुरा माननीयहरुले उठाउनुभयो । त्यसमा मैले केही कुराहरु यसअघि नै भनिसकेको छु । थप कुराहरु उठेकाले म तिनलाई प्रष्ट पार्न चाहन्छु ।
सभामुखको संविधानको संरक्षणकारी भूमिका हुनुपर्थ्यो भन्ने मेरो मान्यता छ । त्यो विषय सर्वोच्चमा विचाराधीन छ त्यसपछि नै क्लियर होला ।
जनता समाजवादी पार्टीका बारेमा प्रदेश सभा नै स्पष्ट छैन । बहुमतको निर्णय मान्नुपर्छ भन्ने हो, ४ जना सदस्यले मानेको कुरालाई मानेर जाउँ भन्ने हो हाम्रो कुरा ।
दल विभाजित पनि नहुने, एक पनि नहुने हुँदा उपधारा २ कार्यान्वयन हुन सक्दैन ।
प्रदेश सभा सचिवालयले दलका विषयमा अन्योल प्रष्ट पार्नुपर्छ भन्ने हो । अलग अलग छन् अलग मानौं भन्न खोज्नुभएको होला, सर्वोच्चको निर्णय पर्खिनुभएको होला ।
१ कि २ भन्ने कुरा दलका बारेमा या सांसदका बारेमा टुंगो लागेपछि मात्रै प्रष्ट हुन्छ ।
जटिलताको भारी मुख्यमन्त्रीलाई नबोकाइदिनुस् । जनता समाजवादी दल एक दल भन्ने कुरामा के कुराले समस्या बनाएको छ ?
कतिपय माननीयहरुले सरकारलाई बहुमत छैन भन्नुभएको छ । यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ । जनता समाजवादीका सांसद र विमलाजीको कुरालाई प्रष्ट रुपमा मानिदिनुस् । ३९ जना एमालेका र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन छ । तर व्यवहारमा त्यस्तो भएन । विमलाजीको दल परिवर्तन संसदले गर्न मिल्दैन । जनता समाजवादीका २ जना सांसद प्रतिपक्षमा हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।
सर्वोच्चले जनता समाजवादीका बारेमा सर्वोच्चले जे फैसला गर्छ त्यसैअनुसार अघि बढौला ।
प्रदेश प्रमुखको कार्यालयभित्र जे भयो त्यो विषयमा पनि भन्नै पर्छ । महिला माननीयमाथि अभद्र व्यवहार भयो भन्नुभयो, यदि त्यसो भएको हो भने राम्रो हैन । प्रदेश प्रमुखको कार्यालयलाई धर्ना दिने थलो बनाउनु हुन्छ कि हुँदैन प्रतिपक्षी दलहरुले नै भन्नुस् ।