बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदबाट फिर्ता गरेर पुनर्लेखन नगरे आन्दोलन चर्काउने पत्रकार महासंघले चेतावनी दिएको छ । बरिष्ठ पत्रकार तथा संचारसम्बद्ध संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बिधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुको विकल्प नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिले आयोजनामा प्रस्तावित संचार माध्यम सम्वन्धी विधेयकका विषयमा आज भएको भर्चुअल छलफल कार्यक्रममा बोल्ने पत्रकार महासंघका पदाधीकारी र बरिष्ठ पत्रकारहरुले प्रदेश सरकारले मिडीयामा अंकुश लगाउन खोजेको भन्दै बिधेयक नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
‘विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रशारण गर्नुपर्ने, संचार माध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रशारण गर्नेलाई कैद तथा नगद जरिवाना गर्ने जस्ता व्यवस्था समेटिएको छ । त्यसैगरी संचार माध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरेमा संचार माध्यम बन्द गर्न सकिने उल्लेख छ । यो प्रेसलाई अंकुस गर्नका ल्याइएको बिधेयक हो,’ नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तथा बरिष्ठ पत्रकार तारानाथ दाहालले बताए ।
उनले प्रदेशमा संचार माध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमन गर्न तथा प्रदेश संचार परिषद्को स्थापनाका लागि आवश्यक व्यवस्था गर्न भन्दै संचार माध्यम ऐन, २०७८ लागू गर्न खोजिएको बताए ।
त्यस्तै विधेयक ल्याउनु पछाडीको तात्पर्य मिडियालाई नियन्त्रण गर्नु रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको बुझाई छ । विधेयकले काउन्सिललाई प्रदेशका मन्त्रीको सचिवालय जस्तो बनाउन खोजेको उनले बताए । निजामती रजिष्ट्रारले पत्रकारलाई जेल हाल्न पाउने गरी विधेयक ल्याइएकाले यसले अदालतको अवहेलना गरेको उनको भनाई थियो ।
अध्यक्ष पोखरेलले विश्वव्यापी प्रेस स्वतन्त्रताको बिरुद्ध आउन लागेको मिडिया बिधेयक संसदबाट फिर्ता गरी पुनर्लेखन नगरे पत्रकार महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताए । ‘पुनर्लेखनमा सहयोग गर्न परे जस्तो सुकै सहयोग गर्न पनि हामीहरु तयार छौं,’ उनले भने ।
प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले संसदमा गई सकेको बिधेयक संसदबाटै फिर्ता गर्नुपर्ने बताइन् । उनले मिडियामैत्री प्रदेश बनाउन सबै लाग्नुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, बरिष्ठ पत्रकार डिआर घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरी, केन्द्रिय सदस्य शुसिल पोख्रेल, प्रेस चौतारीका प्रदेश संयोजक शोभाखर पन्थी, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष देवेन्द्र वर्मा, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल, दांगका अध्यक्ष दुर्गालाल केसी , नवलपरासीका अध्यक्ष हरि शर्मा, रोल्पाका अध्यक्ष नविन लोचन मगर, गुलमीका अध्यक्ष टोपलाल अर्याल, पत्रकार माधब अर्याल, टेलिभिजन संघका दिनेश पाण्डे, प्रेस मञ्चका सचिव टोपराज शर्मा, संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष अमृता अनमोल लगायतले बिधेयक फिर्ता नगरे आन्दोलका कार्यक्रम सार्बजनिक गर्नु पर्ने बताएका छन् ।