काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भन्दै कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको धम्कीको भर्त्सना गरेको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको वैद्यकाे अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन्।
विज्ञप्तिमार्फत एमालेले यस प्रकारको अभिव्यक्तिविरुद्ध कानुनी उपचारमा जाने संकेत गरेको छ।
‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्ति
बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।
प्रदीप ज्ञवाली
प्रवक्ता