बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विहीबार बाग्मतीको प्रदेश सभामा सांसद नरोत्तम बैद्यको ‘नाथुराम गोड्से बन्न तयार छु’ भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन् ।
आज विहान सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया लेख्दै उनले ‘नेपालमा केपी ओली भारतका गान्धी झैं लोकप्रिय बन्दैछन् भन्ने आकलन गरेर ओलीविरुद्ध घेराबन्दी भएको त होइन ?’ भन्दै संशय व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका प्रदेश सांसद बैद्यले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो भने आफू बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए–‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’
भारतका अहिंसावादी नेता महात्मा गान्धीलाई अति हिन्दुवादी नाथुराम गोड्सेले सन् १९४८ जनवरी ३० का दिन गोली हानेर हत्या गरेका थिए ।
सांसद बैद्यले प्रदेश सभामा मै दिएको उक्त अभिव्यक्ति प्रति नेकपा एमालेले आलोचना गर्दै कानूनी कारवाहीको माग गरेको छ । उता नेपाली कांग्रेसले सांसदलाई आत्मालोचना गर्न निर्देशन दिएको छ ।
सोही विषयलाई लिएर मुख्यमन्त्री पोखरेलले लेखेका छन्–‘केपी ओलीका विरुद्धमा यति ठुलो घेराबन्दी कतै समृद्धिको यात्रा र स्वाभिमानको लडाइँबाट नेपालमा केपी ओली भारतका गान्धी झै लोकप्रिय बन्दैछन् भन्ने आकलन गरेर भएको त होइन ?’