बुटवल । लुम्बिनी प्रदेशको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले सरकारको नीति कार्यक्रममाथि छलफल गरेका थिए ।
आज भएको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रमको उद्देश्य र प्राथमिकताका विषयमा स्पष्ट पारेका थिए । उनले कोरोना महामारी नियन्त्रणलाई प्रथामिकतामा राखेर नीति कार्यक्रम तर्जुमा गरिएको बताए ।
यसअघि आजै बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारका तर्फबाट राखेको धन्यवाद प्रस्ताव प्रदेशसभामा बहुमतले पारित भएको छ । सरकारको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनले विरोध जनाइरहेका बेला सरकारका तर्फबाट सभामा सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठक भोली जेठ २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।