बुटवल-प्रदेश ५ को स्थायी राजधानीका बारेमा फेरि एकपटक चर्चा शुरु भएको छ। प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवलबाट अन्यत्र सार्न कसरत भएपछि रुपन्देहीका सरोकारवालाले पनि चासो देखाएका छन्।
खासगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफुले निर्वाचन जितेको दाङमा राजधानी बनाउनका लागि प्रयत्न गरिरहेका छन्। उनले अनौपचारिक रुपमा भन्ने गरेका छन्-साथीहरु थाक्दै गर्नुहुन्छ अनि मात्रै स्थायी राजधानीको टुंगो लाग्छ। उनको भनाईको आशय हो-प्रदेश राजधानी बुटवलबाट सार्ने तयारी भइरहेको छ। बुटवल वा रुपन्देही भन्नेहरु थाकेर सुस्ताउन थालेको मौकामा राजधानी सार्ने संकेत मुख्यमन्त्री पोखरेलले गर्दै आएका छन्।
उनी रुपन्देहीमा हुने अधिकांश कार्यक्रमहरुमा सहभागी हुन आनाकानी गर्छन्। सहभागी भएपनि रुपन्देहीबासी, रुपन्देहीका संघसंस्था र सञ्चारकर्मीहरुको व्यङ्ग र आलोचना गर्छन् । होच्याउँछन् । तर दाङ पुगेर सानातिना कार्यक्रमहरुमा पनि सहभागी हुन्छन् र रुपन्देहीमा भएका कार्यक्रमभन्दा कम स्तरका कार्यक्रमहरुको पनि प्रशंसा गर्छन्। उत्साह थप्छन्।
यसले पनि उनी स्थायी राजधानीका लागि बुटवल हुँदैन भन्नेमा तयारी गरिरहेका छन्। उनले पछिल्लो समय भर्जिन ल्याण्डको कुरा उठाएका छन्। त्यसको अर्थ रुपन्देही हुनुहुँदैन भन्नेमा केन्द्रित छ उनको भनाई।
केही समयअघि प्रेस संगठनको प्रदेशस्तरीय भेलामा उनले नेकपा महासचिव तथा रुपन्देहीका सांसद विष्णु पौडेलको नाम लिएरै भने-पत्रकारलाई समाचार लेख्न लगाउन बन्द गर्नुस्। यसले मुख्यमन्त्री र महासचिवबीच राजधानीबारे मतभेद रहेको संकेत गर्छ।
तर उनले प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको र मुख्यमन्त्री उपस्थित रहेको दाङको बेलझुण्डीमा आयोजित प्रदेश एक्स्पोमा प्रदेशको राजधानी दाङ भनेर कार्यक्रम सञ्चालकले पटक पटक बोल्दा किन त्यसलाई रोकेनन् ?
यसले प्रष्ट पार्छ मुख्यमन्त्रीको नियत र रुपन्देहीप्रतिको दृष्टिकोण।
दुईतिहाइ पुराउने कसरतमा
राजधानी सार्नका लागि दुई तिहाइ मत चाहिन्छ। अहिलेको अवस्थामा राजधानी सार्न दुईतिहाइ पुग्दैन। किनभने नेकपाकै सांसदहरुबीच राजधानीबारे मतभेद छ। नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेल पदको लोभ देखाएर दाङको पक्षमा मत बढाउन चाहन्छन्। त्यसका लागि उनले अर्घाखाँची, कपिलवस्तु र प्युठानलाई दाङको पक्षमा पार्न लविङ गरिरहेका छन्।
उनी अहिले कायम रहेका मन्त्रालयहरु टुक्राएर मन्त्री थप्ने सम्मको तयारीमा छन्। श्रोतका अनुसार प्युठानका हरि रिजाल, अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका विष्णु पन्थीलाई मन्त्री दिने लोभ देखाएका छन् उनले।
यता गुल्मीका सुदर्शन बराललाई पनि उनले आफ्नो पक्षमा पारिसकेका छन्। केही समयअघि सम्म बरालको विकल्प खोजिरहेका मुख्यमन्त्री पोखरेलले राजधानीको सवालमा बरालले साथ दिएपछि उनलाई योजनाहरु थप गरिदिएर आफ्नो पक्षमा राखेका छन्। उनले त व्यक्तिगत भेटघाटमा बुटवल राजधानी हुँदैन, दाङ नै हुन्छ भन्ने गरेका छन्।
सँगसँगै उनले साना दलहरुलाई पनि लोभको हतियार प्रयोग गर्ने तयारीमा रहेको मुख्यमन्त्री निकट श्रोत बताउँछ। सद्भावना पार्टीका ५ सांसद, जनमोर्चा र राजपाका १-१ सांसदलाई पनि कार्यक्रम र योजना दिएर आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन्।
यसमा मुख्यमन्त्रीसँगसँगै सभामुख पूर्णबहादुर घर्ती पनि छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी त रुपन्देहीमा सकेसम्म प्रदेश स्तरका कार्यक्रम नगर्ने भनेरै लागेका छन्। जसको संकेत हो-प्रदेश एक्स्पो दाङमा आयोजना गर्नु र प्रदेश स्तरीय पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रम दाङमा गर्नु।
पूर्णबहादुर घर्तीले योजनाबद्ध ढंगले दाङको पक्षमा बनाइएको राजधानी सिफारिश समितिको प्रतिवेदन मुख्यमन्त्रीकै आग्रहमा सदनमा पेश गर्न रोकेर राखेका छन्। यसको अर्थ हो-माहोल तयार भएपछि सदनबाट पास गराउने गरी मात्रै सदनमा लग्ने।
मुख्यमन्त्रीकै सल्लाहमा दाङमा नागरिक समाजले दाङ राजधानी बनाउनका लागि दबाब अभियान थालेको छ भने नेपालगञ्जमा बाँकेलाई कर्णालीमा मिसाउनुपर्छ भन्ने अभियान शुरु भएको छ। यी दुवै अभियानमा मुख्यमन्त्रीको समर्थन छ। उनले रुपन्देहीमा हुने यस्ता गतिविधिको कडा आलोचना गरेपनि दाङ र नेपालगञ्जमा हुने कार्यक्रमहरुको भने कुनै टिप्पणी गर्दैनन्।
मुख्यमन्त्रीको यो तयारीमा दाङ र पश्चिमका नेताहरु लागेपनि साबिक लुम्बिनी अञ्चलका नेताहरुले भने सार्वजनिक रुपमा मुख खोलेका छैनन्। साबिक लुम्बिनीका नेताहरु पदको लोभमा बिक्छन् भने राजधानी सर्ने निश्चित छ।
यस्तो छ अंकगणित, कुन जिल्लाबाट कति सांसद ?
८७ जना सांसद रहेको प्रदेश ५ मा दुईतिहाइ समर्थनका लागि ५८ जनाको समर्थन चाहिन्छ। प्रदेश नम्बर ५ मा नेकपाका ६१, कांग्रेसका १९, संघीय समाजवादी फोरम ५, राजपा र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन्।
जिल्लागत विवरण अनुसार नवलपरासी पश्चिममा ५ जना, रुपन्देहीमा १९ जना, कपिलवस्तुमा १२ जना, पाल्पामा ७ जना, गुल्मीमा ५ जना, अर्घाखाँचीमा ४ जना, प्यूठानमा ३ जना, रोल्पामा २ जना, रुकुम पूर्वमा ३ जना, दाङमा १० जना, बाँकेमा ९ जना र बर्दियामा ८ जना सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।
किन यी कुराहरुलाई वेवास्ता गरिदैछ ? के राजधानी कम्पासले नापेर केन्द्रमा राखिन्छ ?
संसारका कुनैपनि मुलुकमा राजधानीहरु भौगोलिक हिसाबले केन्द्र भागमा छैनन्। अमेरिकाको राजधानी वासिङटन डिसी होस् वा चीनको राजधानी बेइजिङ वा भारतको राजधानी दिल्ली अथवा नेपालकै राजधानी काठमाडौं समेत भौगोलिक हिसाबले केन्द्र भागमा छैनन्। यदि नेपालको राजधानी भूगोल नापेर केन्द्रभागमा हुनुपर्ने थियो भने नवलपरासी या त्यसै सेरोफेरोमा हुनुपर्ने थियो। अर्कोकुरा, भूगोलका हिसाबले केन्द्रभागमा हुँदैमा राजधानी जनताका लागि सुगम नहुन सक्छन्, पायक नपर्न सक्छन्। भौगोलिक सुगमता, भौतिक पूर्वाधार तथा अन्तरराष्ट्रिय समुदायले चिन्नका लागि सजिलो हुने ठाउँलाई राजधानी बनाइनु उपयुक्त हुन्छ।
सोही कारण बुटवल पनि राजधानीका लागि उपयुक्त छ। यदि राजधानी केन्द्रमै राख्नुपर्ने थियो भने विराटनगर, हेटौंडा, धनगढी र सुर्खेतलाई पनि राजधानी घोषणा गरिनु हुँदैनथ्यो। फेरि राजधानी फिताले नापेजसरी या कम्पासले गोलो घेरा बनाएर त्यसको ठीक बीच भागमा बनाइनुपर्ने भए संविधानमै यो कुरा उल्लेख गर्नुपर्ने थियो। किनकी यसअघिका अभ्यासहरुमा पनि राजधानी केन्द्रमै राख्ने गरिएको छैन।
कति जनसंख्यालाई कस्तो सुगमता ?
राजधानी जनतालाई सुगम हुने, पायक पर्ने ठाउँमा हुनुपर्छ। यसमा कुनै अर्को तर्क छैन। तर त्यो सुगमता कस्तो खालको हो भन्ने विषयमा भने छलफल आवश्यक छ। प्रदेश ५ मा १२ जिल्ला छन्।
साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका केही जिल्ला मिलेर प्रदेश ५ बनेको छ। यो प्रदेशका ६ जिल्ला पहाड र ६ जिल्ला तराईमा छन्। यहाँको जनसंख्या ४४ लाख ९९ हजार छ। त्यसमध्ये करीब २६ लाख जनसंख्या साविक लुम्बिनी अञ्चलमा छ। त्यसबाहेकको बाँकी जनसंख्या अरु ६ जिल्लाको हो। यस्तो अवस्थामा बहुसंख्यक जनताको सुगमतालाई हेर्दा राजधानी बुटवलमै उपयुक्त देखिन्छ।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका जनताका लागि त बुटवल पानीपंधेरो जस्तै हो। यहाँका अधिकांश जनताको पहाड र तराई गरी दोहोरो बसाई छ। गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तुका लागि बुटवल स्वभाविक रुपमै पायक स्थान हो।
बुटवलदेखि साविक लुम्बिनीका अधिकांश स्थानमा यातायातको सहज पहुँच छ। त्यतिमात्रै हैन, बुटवलबाट देशका सबैजसो मुख्य शहरहरु र प्रदेश ५ का सबै जिल्लाका सिधा गाडी छुट्छन्। प्युठानका लागि पनि बुटवल पायक स्थान मानिन्छ। प्युठानबाट बुटवलका लागि यातायातका साधनको उपलब्धता र सुल्टो पायक पर्ने हुँदा प्युठानीहरुका लागि पनि बुटवल राजधानी नै उपयुक्त हुने ठहर गर्न सकिन्छ। त्यसो त दाङकै लागि पनि बुटवल अपायक छैन।
२ देखि ३ घण्टाको यात्राको दुरी भएकाले दाङबासीका लागि पनि बुटवल सुगम नै छ। पूर्व पश्चिम राजमार्ग, उत्तर दक्षिण राजमार्ग र भैरहवामा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलले पनि रुपन्देहीलाई सुगम बनाएको छ। राजधानी आफ्ना जनताका लागि मात्रै सुगम भएर पुग्दैन। अरु प्रदेशबाट आउने पाहुना, विदेशी कुटनीतिक नियोगका व्यक्ति तथा घुम्न आउने पर्यटकहरुका लागि समेत सुगम हुनु जरुरी छ। त्यो रुपन्देहीमा मात्रै सम्भव छ।