पोखरा - गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी हुन्। विहिवार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
शनिवार दिउसो ३ बजेसम्मको लागि उपधारा ५ बमोजिमको सरकार गठनको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा उल्लेख छ । ६० सदस्यिय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सासद चाहिन्छन । सरकार बनाउन विपक्षी दल तयारी अवस्थामा छन ।
उनीहरुले आजै सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् । विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीले बहुमतसहित आफूहरुको सरकार बन्ने दाबी गरे ।