भैरहवा । मर्चवारी गाउँपालिकामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको शिलालेख तोडिएको छ । मर्चवारी गाउँपालिका वडा नं ७ मंझरियाको पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले तोडफोड गरेकी हुन् ।
उपाध्यक्ष कलवार ‘झोलुङ्गे पुल सबै जनप्रतिनिधिको सहयोगमा बनेको भएपनि उपाध्यक्षको नाम किन नराखिएको’ भन्दै आक्रोशित भएकी थिइन् । गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी कलवारले शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्य तथा उपभोक्ता समितिका अध्यक्षको समेत नाम राखिएको तर आफ्नो नाम नराखिएकाले विरोधस्वरुप शिलालेख भत्काइदिएको बताइन् ।
‘म अनुगमन समितिको संयोजक हुँ, तर उद्घाटनबारे मलाई जानकारी गराइएन तर शिलालेख नाम नहाल्नु मेरो अपमान गर्नु हो । महिलामाथि गरिएको अन्याय हो,’ उनले भनिन् ।
विहीबार पुल उद्घाटनको कार्यक्रम आयोजना गरिएको थियो र प्रमुख अतिथिका रुपमा प्रदेश सांसद सन्तोष कुमार पाण्डेलाई निम्त्याइएको थियो । तर शिलालेखको विषयमा विवाद भएपछि सांसद पाण्डे कार्यक्रम स्थलमा गएनन् । अबेर गरी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले आफै पुलको उद्घाटन गरे ।
गाँउपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष कलवार बीच खटपट चलिरहेकै समयमा यस अघि २०७७ माघ ८ गते शिलान्यास भएको थियो । त्यतीबेला निर्माण सम्पन्न भएपछि उद्घाटनका समयमा शिलालेखमा नाम समेटिने आश्वासन उपाध्यक्ष कलवारले पाएकी थिइन् । तर उनको नाम नराखिकनै शिलालेख अनावरण गरी पुल उद्घाटन गर्न लागेपछि भने उनी आक्रेशित बनेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष बानियाँले सबैको नाम शिलालेखमा राख्न सम्भव नभएकाले उपाध्यक्षको नाम नराखिएको बताए । उनले शिलान्यास कार्यक्रममा उपाध्यक्षको उपस्थिती रहेकोले शिलालेखमा उनको नाम राख्न बाध्य नभएको बताए । उनले भने–‘शिलान्यास कार्यक्रममा उपाध्यक्षको उपस्थिती नभएकोले शिलालेखमा कसरी उहाँको नाम राख्ने ? कार्यक्रममा विरोध जनाउने अनि नाम खोजेर हुन्छ ?’
हाललाई विवाद साम्य पार्न शिलालेहमा मार्करले उपाध्यक्षको नाम लेखिएको छ । अर्को शिलालेखमा उपाध्यक्षको पनि नाम समेटिने गरी शिलालेख बनाइने अध्यक्ष बनियाले बताए ।