पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको सरकार ढलेको छ । उनले आज प्रदेश सभामा विश्वासको मत पाउन असफल भएपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाए । यो उनको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।
विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।