बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा डाँडो कुनै हालतमा नकाटिने स्पष्ट पारेका छन् । बजेटमा उल्लेख भएको खानिजन्य निर्माण सामग्री निर्यात गर्ने विषयमा सिद्धबाबाको डांडासंग कुनै सम्बन्ध नरहेको उनले बताए ।
लुम्बिनी टाइम्ससँग संक्षिप्त कुरा गर्दै मन्त्री पौडेलले सिद्धबाबाको डांडो काटेर दूर्घटना जोखिम कम गर्नुपर्ने प्रस्ताब आफुसंग १५ वर्षअघि देखि आएपनि त्यसलाई अस्वीकार गर्दै आएको समेत बताए ।
‘सिद्धबाबाको डांडो चुरे पहाड हो भन्ने कुरा मलाई राम्रो संग थाहा छ ,चुरे काटिदैन र काट्न दिईदैन’-मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले सिद्धबाबा क्षेत्रमा यात्रा गर्दा हुने जोखिम घटाउन विभिन्न विकल्पहरुमाथि छलफल भएपछि मात्र अन्तिममा सुरुङ्मार्ग बनाउने टुंगोमा पुगेर टेण्डर गरिएको बताए ।
‘सबैभन्दा उपयुक्त विकल्प सुरुङ्मार्ग हो भन्ने निश्कर्ष निकालेर काम अगाडी बढिसकेपछि फेरि डांडा काट्ने विकल्पमा फर्किने कुरा आउंदैन, सिद्धबाबाको डांडा जोगाउनकै लागि सुरुङ्मार्ग बनाउन लागिएको हो,’ उनले भने । गैरकानुनी रुपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुनेगरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य निरुत्साहित गरिने उनले बताए ।
सिद्धबाबा पहाडबाट ढुंगा खसेर ठूलो मानवीय क्षति हुन थालेपछि मन्त्री पौडेलकै अगुवाईमा जोखिम न्यूनीकरणका लागि विभिन्न विकल्पहरु खोजिएका थिए । पहिलो विकल्पको रुपमा सिंगो पहाडभरि फलामको जाली विछ्याएर खस्न लागेका ढुंगाहरु अड्याउन 'रक नेट' र 'रक सेड' विधिको परिक्षण समेत गरिएको थियो ।
उक्त विधि सफल नहुने देखिएपछि मन्त्री पौडेलले दुवैतिरका पहाड छलेर तिनाउ नदीको माथिबाट लामो पुल बनाउने विकल्पमा पनि अध्ययन गर्न लगाएका थिए । त्यो बिकल्प निकै महंगो पर्ने भएपछि अन्तिममा सुरुङ्मार्ग नै बनाउने निश्कर्षमा पुगिएको उनको भनाई छ ।
जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजेटमा खोंट भेटाउन नसकेपछि कतिपय ब्यक्तिहरुले बजेटको १९९ नम्बर बुँदालाई चुरेसंग जोडेर विवाद सिर्जना गर्न खोजेको उनको आरोप छ । सरकारले व्यापार घाटा कम गर्न ढुंगा गिट्टी बालुवा निकासी गर्ने योजना बजेटमार्फत सार्वजनिक गरेको थियो ।