पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक शुरु भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन । अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन् ।
यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र २ वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।