बुटवल - लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षीहरुले सुन्दा आकर्षक र कार्यान्यवन हुन नसक्ने प्रतिक्रिया दिएका छन् । नीति कार्यक्रम बाचन हुँदा संसदीय दलको तर्फबाट आफू मात्र उपस्थित भएका कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले खासै नयाँ कुरा केही नभएको उल्लेख गरे । ‘क्रमभंगता केही थिएन, सुन्दर र आकर्षक देखिने हावाले भरिएको बेलुन जस्तो लाग्यो ।’ उनले भने महत्वाकाक्षी कार्यक्रम समावेश गरिएको छ । तर त्यसको लक्ष्य भेटाउने श्रोत सुनिश्चितता बारे पनि नीति कार्यक्रम मौन छ।’
खानले बजेटमा कोभिड विरुद्धको खोपको सुनिश्चितता उल्लेख नगएको बताए । ‘स्वास्थ्यलाई प्राथमिकता दिएको भनिएको छ । तर आम नागरिकले परिकल्पना गरेको खोपको सुनिश्चितता बारे मौन छ।’ उनले भने । दुई तिहाइ सरकारले कार्यान्वयन नसकेको नीति तथा कार्यक्रम अल्पमतको र कहिले ढल्ने भन्ने निश्चित नभएको सरकारबाट कार्यान्वयन हुन नसक्ने खानको भनाइ छ ।
त्यसै गरी माओवादी केन्द्रका तुलाराम घर्तिमगरले नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको र नयाँ कुरा केही नआएको बताए। ‘नीति तथा कार्यक्रम अग्रगामी खालको छैन। यथास्थिती सैलीमै आएको छ ।’ उनले भने ‘महिला उद्यम र कृषिमा केही नयाँ कार्यक्रम आएपनि अरु पुरानै खालका हुन्।’ कोभिडको महामारीमा स्वास्थ्यमा थप कार्यक्रम हुनुपर्नेमा खासै नभएको घर्तिको भनाइ छ।