बुटवल-कोरोना भाईरसको संक्रमणको त्रासका कारण प्रदेश ५ सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ ।
सम्मेलनमा विदेशी लगानीकर्ता पनि सहभागी गराउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय परिवेशअनुसार सतर्कता अपनाउन सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
सम्मेलनसँगै प्रदेश ५ का १२ वटै जिल्लामा हुने मेला महोत्सव पनि अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।
बैठकले लगानी सम्मेलन, मेला, महोत्सवसँगै धेरै जना भेला हुने कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारीमार्फत रोक लगाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र सतर्कता अपनाउन संघीय सरकारको निर्णय कार्यान्वयन गर्दै प्रदेश सरकारले पनि एकै स्थानमा धेरै भेला हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ ।
वैशाख ४ र ५ गते हुने लगानी सम्मेलनमा पनि विदेशीको सहभागिता हुने भएकाले तत्कालका लागि स्थगित गर्नु परेको सरकारका प्रवक्ता एवं भौतिक योजना मन्त्री बैजनाथ चौधरीले बताए ।
प्रदेश सरकारले संघीय सरकारको निर्णयसँगै सोमबार नै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी मेला रोक्न र नगर्न निर्देशन गर्नेछ । मन्त्रिपरिषद् बैठकले सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै प्रदेशमा प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।