काठमाडौँ - प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइको लागि सर्वोच्च अदालतमा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईलाई संवैधानिक इजलासमा राखेका छन्।
यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो। न्यायाधीश केसी र श्रेष्ठले इजलास छोड्न नमानेपछि अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्की अलग भएका थिए। त्यसपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।
रोष्टरमा रहेका न्यायाधीश हरिकृष्ण कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेकाले उनैले गरेको विघटनको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भन्दै पहिलो विघटनमा प्रश्न उठेको थियो। प्रश्न उठेपछि कार्की बाहिरिएका थिए। यस पटक पनि उनी इजलासमा बसेका छैनन् ।
उनी पछिका छैटौं वरीयता न्यायाधीश खतिवडा संवैधानिक इजलासमा परेका छन् वरिष्ठ पाँचमध्ये न्यायाधीश विश्वम्भर श्रेष्ठ बिरामी भएकाले आइसोलेसनमा छन्। उनी पनि अनुपस्थित भएकाले सातौं वरीयताका आनन्दमोहन भट्टराई इजलासमा समावेश भएका हुन्। प्रतिनिधि सभा विघटन लगायतका विषयमा लगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।