काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिट निवेदनमाथि बहस भइरहेको छ ।
रिट निवेदकहरुले अहिले बहस गरिरहेका छन् । सन्तोष भण्डारी, सुजन नेपाल, शैलेन्द्र अम्बेडकर, मोहना अन्सारीलगायतले बहस गरेका छन् । अधिवक्ता अम्बेडकरले विश्वासको मत छैन भनेका प्रधानमन्त्रीले पुनः दाबी गर्दा कसरी त्यसलाई आधिकारिक आधार मानियो ? भन्दै प्रश्न गरेका छन् ।
‘मलाई विश्वासको मत छैन भनेका प्रधानमन्त्रीले पुनः दाबी गर्दा कसरी त्यसलाई आधिकारिक आधार मानियो र बहुमत भएको अर्को दाबीसहितको निवेदन कसरी खारेज भयो ?’ उनको प्रश्न थियो, ‘संविधानअनुरुपको प्रक्रिया नखोजेको राष्ट्रपतिले दुबै दाबी मान्न सक्नु हुन्न । खारेजी पनि असंवैधानिक छ ।’ मोहन अन्सारीले राजनीतिको फोहोरी खेल रोक्न अन्तरिम आदेशको माग गरेकी छन् ।
यो प्रक्रियालाई पालना नगरिएका कारण प्रतिनिधिसभा अहिले पनि जीवित रहेको उनको भनाइ छ । यस्तै, अर्का रिट निवेदक शैलेन्द्रप्रसाद अम्बेडकरले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (२) मा विश्वासको मत पाउन नसकेर ७६ (३) बमोजिमको प्रधानमन्त्री नियुक्त भएको भन्दै जनताको प्रतिनिधिबाट विश्वासको मत नपाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने दावी गरे ।
संवैधानिक इजलासमा रिट निवेदक तथा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनमा प्रक्रियागत त्रुटि रहेको दावी गरेका छन् । रिट निवेदक तथा अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभा विघटन प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको दावी गरे । उनले सरकार गठनको प्रक्रिया पूरा नगरिएको देखिएकोले संसद पुनर्स्थापनाको माग गरे ।
रिट निवेदक भण्डारीकै तर्फबाट बहस गरेका अर्का अधिवक्ता सुजन नेपालले संविधानको धारा ७६ (३) को प्रधानमन्त्रीले विश्वासको मत नलिइ अर्थात् धारा ७६ (४) को प्रक्रिया पूरा नगरी ७६ (५) मा जान नमिल्ने दावी गरे । ‘त्यस्तो प्रधानमन्त्रीले कि राजीनामा दिन पर्यो, कि विश्वासको मत लिन असफल हुन पर्यो,’ उनले भने, ‘तबमात्र ७६ (५) को बाटो खुल्छ ।’