काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज सर्वोच्च जान लागेका छन् ।
नेपाली कांग्रेस लगायत नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद हस्ताक्षरसहित सोमबार सर्वोच्च अदालत जान लागेका हुन् ।
रिट हाल्न सर्वोच्च जान लागेका यी चार दलले प्रतिनिधि सभा विघटन गैरसंबैधानिक भएको भन्दै त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताउँदै आएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न परमादेश माग्ने उनीहरुको तयारी छ ।
आइतबार नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा रोकिएको थियो ।
गत शुक्रबार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो । देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका सांसदहरू नै सर्वोच्च जान लागेका हुन् । शुक्रबार राति नै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।