काठमाडौँ - प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले पनि प्रचण्डपथ अपनाएको टिप्पणी गरेका छन्। बालुवाटारमा आज पत्रकारहरुसँगको अन्तरक्रियामा ओलीले कांग्रेसले माओवादी केन्द्रको कार्यदिशा अपनाएको आरोप लगाए। ‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । कब्जाको बाटोमा ।' उनले भने 'सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीव्र भए ।'
ओलीले हिंसाबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले लोकतन्त्रलाई तहस नहस पार्न खोजेको आरोप लगाए। 'संवैधानिक बाटोबाट नसकेपछि बलजफती सत्ता कब्जा गर्ने र तानाशाही रुपमा सत्ता चलाउने योजना असफल भएपछि लोकतन्त्रमा आए तर यहाँपनि विवाद सिर्जना गरेर लोकतन्त्र नै खतरामा पार्ने काम गरे।’ उनले भने ।
प्रधानमन्त्रीले राष्ट्रपति विरुद्ध कतै उजुरी र मुद्दा लाग्न नसक्ने पनि दाबी गरे । बहुमत दाबीका लागि भरपर्दो आधार भयो कि भएन भनेर जाच्ने अधिकार राष्ट्रपतिलाई मात्रै भएको भन्दै त्यसविरुद्ध कतै पनि उजुरी नलाग्ने उनको भनाइ छ।'संविधानले राष्ट्रपतिलाई अन्य त्यस्तो अधिकार दिएको छैन । तर, बहुमत सांसदको हास्ताक्षरसहित दाबी गर्दा त्यसको ठोर र भरपर्दो आधार खोज्ने र निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई छ,' ओलीले भने, 'त्यो अधिकार प्रयोग गर्दा कतै पनि उजुरी लाग्दैन ।'