बुटवल । लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलले १६ बुँदे सुझावसहित प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।
शनिबार मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै महामारी नियन्त्रणमा प्रभावकारी कदम तत्काल चाल्न आग्रह गरेको हो । “प्रदेश सरकार आफ्नै धुन एवं गतिमा अग्रसर हुँदा, सरकारी काम कारबाही चुस्तदुरुस्त नदेखिएको, सरकारको लाचारीपन, लापरबाही र गैरजिम्मेवार गतिविधिले महामारी नियन्त्रण र रोकथाम काबु बाहिर गएकोमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश भत्र्सना गर्दछ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ससदीय दलका नेता विरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रदेश सरकारले काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ।
पत्रमा सरकारलाई 'सबै जिल्लामा प्रदेश सभाका माननीयहरुको नेतृत्वमा अति आवश्यक सेवा,संक्रमित एवं अस्पतालहरुको अनुगमन र प्रदेश सरकारसँग सहजीकरण गर्न सर्वपक्षीय संसदीय टोली गठन' गर्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्रमा अवस्थामा महामारी नियन्त्रण, न्युनिकरण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिप्रति सम्मान व्यक्त गरिएको छ । बाग्मतीपछि सबैभन्दा बढी संक्रमित लुम्बिनीमा रहेका छन्। लुम्बिनीमा होम आइसोलेसनमा १९ हजार तीन सय ९१ र सरकारी तथा निजी अस्पतालमा दुई हजार दुई सय पाँच सक्रिय संक्रमित रहेका छन्।